काठमाडौं ।
संसद सचिवालयकी कर्मचारीलाई करणी प्रयास गरेको अभियोगमा कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् ।
जिल्ला अदालत काठमाडौंले हिजो भएको महराको अन्तिम सुनुवाईमा फैसला गर्दै सफाई दिएको हो ।
न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट महराले सफाइ पाएका हुन्। बहस सकिए पनि हिजो समय अभाव भन्दै मुद्धा हेर्दा हेर्देमा राखिएको थियो ।
जिल्ला अदालत काठमाडौंमा आइतवारै दुवै पक्षको बहस सकिएको थियो। अन्ततः फैसला महराको पक्षमा आएको हो । महरा संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा थिए। महराको पक्षमा अधिवक्ताहरू लवप्रसाद मैनाली, रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, डा. भीमार्जून आचार्य र सबिता भण्डारी बरालले बहस गरेका थिए।
त्यसैगरि अधिवक्ताहरू सुशील सापकोटा, मुरारी सापकोटा, डा. दिनमणि पोखरेलले पनि महराको पक्षबाट बहस गरे। सरकारी वकिलहरुले बहस गरिसकेपछि महराको पक्षबाट बहस भएको थियो। यसअघि जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले तत्काल प्राप्त प्रमाणका आधारमा महरालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। गत असोज १२ गते संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोग महरामाथि लागेको थियो।
बलत्कार आरोप लागेपछि महराले सभामुख पदबाट अशोज १४ गते राजीनामा दिएका थिए ।