ॐ आयुर् द्रोणसुते, श्रृयं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दुर्योधने
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ति सुते
विज्ञानं विदुरे भवतु भवतां किर्तिश्च नारायणे
म सानो हुँदादेखि आजसम्मका दशैंमा मैले प्राप्त गरेको सबैभन्दा ठूलो आशिर्वाद यही हो । धेरैपछि सम्म त मलाई यो आशिर्वादको अर्थ र महत्व पनि थाहा थिएन । मान्यजनले दिएको ठूलै आशिष होला र हो भन्ने लाग्थ्यो । फेरि आफूभन्दा ठूलाले दिएको आशिर्वादमाथि प्रश्न उठाउने ताकत पनि म बबुरोको कहाँ थियो र ? फेरि आशिर्वचनविरुद्ध नै विद्रोह वा असन्तुष्टी ओकलेर मलाई कसैको श्राप लिनु पनि त थिएन । त्यसैले माथिको श्लोकको अर्थ जान्ने भएपछि मनमनै हाँसेर आशिष ग्रहण गर्दथे । आज भने प्रश्न नै उठाउँदैछु ।
के हामीले लिइरहेको वा हामीलाई दिईंदै आएको बडादशैंको आशिर्वचन सही छ ? महाभारत र रामायणकालीन पात्रहरुको बाँकि दुर्गुणलाई चटक्कै बिर्सिएर गुणहरु मात्र समेटिएको आशिषको अर्को विकल्प खोज्नु शास्त्रको प्रतिकूल हुन्छ ? कि मै मात्र अराजक भएको हो ? के मैले माथिको श्लोकको अंशको स्थानमा अरु नै आशिष दिन आग्रह गर्न सक्छु ?
आजको बसाईमा म धर्मविरुद्ध होइन, संस्कृतिविरुद्ध पनि होइन, रीति वा परम्पराविरुद्ध होइन त्यसभित्रको ज्यादै संवेदनशील तर ज्यादै सानो अंशमा सीमित हुन्छु । आशिषलाई शब्दकोषमा जे लेखे पनि म त्यसलाई ‘मेरा लागि गरिएको कामना’को अर्थमा बुझ्छु । बाँकि तपाई बुझ्नुहोला । र, विशेषगरी दशैंमा पुरुषका लागि तय गरिएको माथि उल्लिखित आशिषमा प्रयुक्त पात्र र तिनका प्रवृत्तिका केही पाटाहरुबारे केही जानकारी भएपछि मलाई आशिषमै सन्देह पैदा भएको हो । किनकि, प्रयुक्त पात्रहरु सत्पात्र वा सद्गुणसम्पन्न ठानिएका होलान् तर ती सबै दोषरहित छैनन् भन्ने मेरो बुझाई हो । अब पात्रको अवगुण, अपगाल वा दोषलाई पीठ फर्काएर गुणलाई मात्र लिनको लागि आशिष दिइएको मान्ने हो भने पनि मभित्रको सन्देहको निवारण चाँहि हुँदैन । अब सन्देह नै भएपछि प्रश्न उठाउने अधिकार सुरक्षित हुन्छ नै भनेर लेख्न बसेको हूँ ।
ब्यासको महाभारत र वाल्मिकीको रामायण पूर्वीय संस्कृतिका त्यस्ता ग्रन्थ हुन् जसले हिन्दु धर्म र दर्शनलाई नै दिशानिर्देश गर्ने सामथ्र्य राख्दछन् वा राखिरहेका छन् । जति कालखण्डमा ज-जसले तयार गरेका भए पनि ती कृतिहरु अद्भूत छन् । तिनका पटकथामा जादू भेटिन्छ । पात्रको चरित्र उठान, उत्कर्ष र अन्त्यमा विष्मयकारी सम्बन्धहरु जोडिएका हुन्छन् । मानव कल्याण हेतु सृजना गरिएका हरेक पात्र, विषय र घटनामा फरक फरक सन्देश सन्निहित छ । पछिल्लो दुई वर्षमा मैले महाभारत र यससँग सम्बन्धित अन्य केही सामाग्रीहरुलाई कतिपटक दोहोर्याएर हेरें आफैंलाई थाहा छैन । तर कतिसम्म चाँहि भन्नसक्ने भएको छु भने महाभारतकालीन पात्रका गुणको मात्र आधारमा तयार गरेर मलाई मेरा बा, हजुरबा, सानो बा, ठूलो बालगायतका मान्यजनले दिनुभएका आशिषमै त्रुटी रहेछ ।
उदाहरण लिन्छु, श्लोकको पहिलो हरफमा प्रयुक्त चार पात्रको । पात्रहरु छन् द्रोण र उनका पुत्र अश्वस्थामा, दशरथ र राधव । पहिलो पात्र द्रोण हुन् । भन्नुहोला त्यो द्रोणको छोराको सम्बन्धमा हो। पुत्रसँग पिता पनि जोडिएर आएको आशिषमा म चाँहि किन पुत्र मात्र कोट्याउँ भनेर पितातिर पनि गएको हूँ।आयुर्वेदका ज्ञाता ऋषी भरद्वाजका पुत्र द्रोण परशुरामका सर्वकालीन श्रेष्ठ शिष्यमध्ये एक थिए । परशुरामबाट यावत् शस्त्रअस्त्रको विधि र ज्ञान हासिल गरेपछि भीष्म पितामहमार्फत उनी हस्तिनापुरका राजकुमारहरुको शिक्षकको रुपमा नियुक्त भएका थिए । तर उनी पक्षपाती थिए । आफूलाई मनपरेको शिष्य अर्जुनलाई श्रेष्ठ देखाउन उनले गरेका केही कर्मलाइ कुकर्मको रुपमा पाउँछु वा बुझ्छु म । जस्तै एकलव्य जस्ता दक्ष धनुर्धरको बुढीऔंला गुरुदक्षिणाको रुपमा लिनु, कर्ण जस्ता क्षमतावान निशानेबाजलाई जातको हवाला दिएर बहिष्करण गर्नु र कर्णकै एक मित्रको हत्याको साक्षी बस्नु (यो छोटो आलेखमा कर्ण को हुन् भन्ने बारेमा जान चाहन्न । किनकि, कर्णलाई निकाल्दा महाभारतको नै स्वाद आउँदैन भन्ने सबैलाई थाहा छ) ।
श्लोकमार्फत उनका पुत्र अश्वस्थामाको जस्तो आयु होस् भन्ने कामना गरिएको छ । किनकि, उनी अष्टचिरञ्जीवीमध्ये एक पनि हुन् । अजरताको अमरताको कामना स्वभाविक पनि होला । अश्वस्थामा वीर, साहसी योद्धा, शास्त्रको ज्ञानी भए पनि उनका केही कर्मले उनीप्रति नै सम्मानभाव जाग्दैन र आशिष ग्रहण गर्दा अमिलो मन बनाउँछु ।
शास्त्र भन्छ, धर्मात्मा, निन्द्रामा भएको व्यक्ति, नशामा चूर भएको व्यक्ति, स्त्री र बालकको हत्या निन्दनीय छ । त्यो अपराध हो । त्यो अमानवीय हो । त्यो आततायी हो । अनि सम्झन्छु, सुतिरहेको समयमा द्रौपदीका पाँच सन्तानको शीर छेदन गर्ने अश्वस्थामालाई शास्त्रले नै अपराधी करार गरिसकेपछि म अपराधीको आयु बोकेर किन हिंडूँ ? शिवकै एक अंशको रुप मानिने दिव्य मणीधारी अश्वस्थामाले प्रयोग गरेको अस्त्रबाट उत्तराको गर्भको शिशुको हत्या प्रयास भयो । दैवी अस्त्र चलाउन जान्ने तर त्यसको उपचार नजान्ने अवगुण पनि त छँदैछ । अझ बढी हामी महाभारतमा कौरव पक्षलाई अन्यायको पर्यायको रुपमा ब्याख्या गर्ने अनि त्यसका एघार सेनापतिमध्येका मुख्य सेनापतिलाई आदर्श मान्नुपर्ने ? हैट ! अलि मन परेन । अझ बढी उनी श्रापकै कारण हजारौं वर्ष भड्किएर हिंड्नुपरेको भन्ने पनि छ । यति भइसकेपछि म कसरी अश्वस्थामाको आयुको कामना गर्छु ?
दशरथको बारेमा पनि मलाई केही असन्तुष्टी छ । दशरथको श्री राजा हुनुमा बढी हो वा रामको पिता हुनुमा बढी हो ? वा मनुले गरेको नारायणको तपस्याबाट प्राप्त बरदानमा ? त्रेतायुगकालीन अयोध्यामा द्वेष र क्लेषरहित राज्य सञ्चालन गर्नु मात्रले आशिषमा नाम थोपरिएको हो कि ? रामायण बुन्ने बाल्मिकीको पटकथा लेखनशैली अपूर्व नहुँदो हो त दशरथको संयोग र वियोगका तस्वीर यतिविधि आउँदैनथ्यो । तर, दृष्टिविहीन मातापिताको सेवामा रहेका श्रवणकुमारको हत्याका दोषी पनि त हुन् राजा दशरथ । होइनन् र ? हो भने मलाई एउटा हत्याराको जस्तो श्री किन चाहियो मलाई ? कि राजाले भूलवश हत्या गरेकाले उनलाई सबै छुट दिइएको हो ?कि शब्दभेदी वाणको खतचाँहि माफीयोग्य हुन्छ ? अनि तिनै श्रवणकुमारका मातापिताको श्रापका कारण उनले पनि पुत्रवियोगमा प्राण अन्त गर्नपरेको भनेर त धेरै ठाउँमा लेखिएकै छ । अझ बढी नीतिमा निपूर्ण हुँदा हुँदै नारीमोहका लागि पनि त दशरथको कीर्तिमाथि धब्बा लागकै छ । यति हुँदाहुँदै कसरी म दशरथको जस्तो श्री स्वीकार गरुँ ?
रामले जस्तो शत्रुको क्षय गर्नु भनिन्छ । ठीकै हो, आदर्शपुरुष हुन् । विष्णुका सातौं अवतार हुन् । दशरथका पुत्र हुन् । सीताका पति हुन् । रावणको आतंक निवारण गरकै हुन् । तर, दोस्रो व्यक्तिसँग युद्ध गरिरहेको बालीलाई छलपूर्वक मारेर रामले कुन युद्धको पाठ सिकाए सिकाए ? अन्यौलमा छु । धेरैले रामलाई सुग्रिवसँगको मित्रताको बारेमा आदर्श मान्छन् तर म मान्दिन ।
किनभने, बालीको हत्यामा सुग्रिवको राज्यमोह वा सत्तामोह गाँसिएको थियो जसलाई छलपूर्वक रामले पूरा गराइदिए । किनकि बाली आफैंले पटकपटक रावणलाई समेत पराजित गरिसकेका बलशाली थिए । र, रामसँगको सहकार्य राज्य हत्याउन फलदायी हुन्छ भन्ने सुग्रिवलाइ थाहा थियो। राज्य उपहारवापत् सुग्रिवले सीताको खोजीका लागि रामलाई वानर सेना प्रदान गरेका थिए । र, यसलाई हनुमान गाथाको अर्को एउटा प्रसंगले पनि बल दिन्छ ।
जस्तो, सुग्रिवले बालीको हत्यापछि राजपाठ सम्हालेपछि विभिषण पनि धर्मको आवरणमा आएका हुन् । यो कुरा सुग्रिवको राज्यारोहणको सन्दर्भमा प्रष्टसँग बुझ्न सकिन्छ । त्यसैले मित्रताका लागि बरु सुदामा र कृष्णको उदाहरण ठीक होला राम र सुग्रिवको स्वार्थपरस्त मित्रतामै शंका छ । तर धैर्यता, शान्त र शत्रुलाई परास्त गर्न शत्रुकै घरबाट मित्रता गाँस्नुपर्छ भनेको भए चाँहि म कूटनीतिक रामलाई झन् ठूलो आदर्श मानेर आशिष ग्रहण गर्दथें ।
उसैपनि विभिषणको माध्यमबाट रावणको बध गराउनुपर्ने बाध्यता रामलाई थिएन, त्यो त वाल्मिकीले धर्ममार्ग वा सत्मार्गलाई अभिव्यक्ति दिन कथामा अर्को गज्जबको कथा बुनेका हुन् । म राम सीताको विवादास्पद अग्नीकाण्डमा प्रवेश गर्दिन। तर मर्यादाको नाप र पवित्रताको प्रमाण आगोको लप्कामा फाल हालेर प्राप्त हुँदै भन्ने कुरा रामले बुझेर पनि बुझपचाएको त होइन ? अतः मेरो भलो चिताएर मलाई दिइएको आशिर्वादमै त्रुटी कसरी हुन्छ ? सम्झेर ल्याउँदा मन खिन्न हुन्छ ।
अर्को अंकमा म दुर्योधनको मानदेखि नारायणसम्म पुग्छु। त्यतिन्जेलसम्म तपाइ यो बहसमा सहभागी हुन सक्नुहुन्छ









































