काठमाडौं ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाकी उपप्रमुख भारत भ्रमण छोट्याएर आज नेपाल फर्किने भएकी छन् । सञ्चारमाध्यममा नगरप्रमुख र उपप्रमुख भ्रमण जाँदा नगरभरी बिदा भन्ने आशयका समाचार प्रकाशित भएपछि उपप्रमुख कविता ढुंगानाले भ्रमण छोट्याएर नेपाल फर्किन लागेको जानकारी दिएकी हुन् । “मिडियाका खबरले बेचैन बनायो र जनतामा पुगेको असरका कारण जवाफदेही जनप्रतिनिधिका हैसियतले भारत भ्रमण छोट्याइ आज १०:४० मा नेपाल फर्कदैछु।” ढुंगानाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो सम्पर्क नंबर समेत खुलाएर जनताप्रति पुर्ण जवाफदेही रहेको उल्लेख गरेकी छन्, “जनताप्रती पुर्ण जवाफदेही छु । स्पष्टीकरणका निम्ति सदा तयार छु।”
ढुंगानाले प्रमुख र उपप्रमुख विदेश गएका कारण नभई नगरपालिका स्थापना दिवसका दिन सार्वजनिक बिदा दिइएको स्पष्ट पारेकी छन् । नगर प्रमुख राजेन्द्ररमण खनाल र उपप्रमुख कविता ढुंगाना भारत भ्रमणमा गएका दिन गत २७ माघमा नगरपालिकाले नगरक्षेत्रभरि बिदा दिएको समाचार आएपछि नगरपालिकाले पनि प्रष्टिकरण दिएको छ।
उपमेयर ढुंगानाले माघ २७ मा नगरपालिका घोषणा भएको दिनको खुसियालीमा बिदा दिने निर्णय भएकामा आफूहरूको भारत भ्रमणसँग जोडेर गलत प्रचार भएको बताइन् ।
‘मन्त्रिपरिषदले २०७३ माघ २७ मा बेलकोटगढी नगरपालिका गठनको निर्णय गरेको थियो’, ढुंगानाले भनिन्, ‘त्यही दिनको अवसरमा बिदा दिइएको हो । संयोगले हामी त्यसै दिन भारत आएको मात्र हो ।’ हामी आएको भएर बिदा दिइएको होइन ।’
युनोप्स नामक भारतीय संस्थाले नुवाकोटका सबै पालिकामा प्राविधिक सहयोग गर्दै आएको र सरकारले भारतबाट आएको अनुदान रकम भूकम्पछिको पुनः निर्माणका लागि उपलब्ध गराइएका कारण युनोप्स नामको भारतीय संस्थाले भारतमा भूकम्पछिको पुनः निर्माणको अवस्थाबारे अध्ययन भ्रमण गराउन आफूहरूलाई लगेको उनको भनाइ छ ।
उनले समाचारमा दाबी गरिएअनुसार माघ २७ पछि पनि नगरपालिकामा ताला नलगाइएको स्पष्ट गरिन् । ‘मानौं कि हामी भारतमा रहुञ्जेल नगरपालिकै बन्द हुने जसरी समाचार आएको छ’, उनले भनिन्, ‘कार्यबाहक मेयर हुनुहुन्छ र जनताको नियमित सेवा प्रवाहमा कुनै अवरोध छैन ।’