-समर प्रतिक
देश, जनता र समाजको मुक्ति, प्रगति र अग्रगामी परिवर्तनका लागि आफूलाई सचेत ढङ्गले बलिदान गर्ने महान् व्यक्ति नै सहिद हुन्छ । असचेत मृत्यु सहिदी मूल्यमा पर्दैन । अचेल उद्देश्यहीन असचेत मृत्युलाई पनि सहिदी मृत्युमा गणना गर्न थालिएकाले सहिदको अवमूल्यन हुँदै गएको छ । सामन्तवादले खडा गरेका विभेद, दासता, शोषण र दमनका पर्खालहरू भत्काउन नेपालमा विभिन्न समयमा थुपै्र सपूतहरूले रगत बगाएका छन् । सबै किसिमका मानवता विरोधी देशी, विदेशी, उत्पीडित र शोषणबाट मुक्त भएर सुन्दर समाज, सुन्दर जीवन अनि सभ्य र उच्च समाजको निर्माण नहुँदासम्म सहिदी प्रक्रिया आवश्यक हुन्छ । परिवर्तनको अर्को नाम नै बलिदान हो । नेपालमा इतिहासको प्रत्येक चरणमा सहिदहरूको बलिदानले यथास्थितिको एउटा पर्खाल भत्काएको छ र अग्रगामी परिवर्तनको ढोका खोलेको छ तर त्यसलाई संस्थागत गर्न नपाउँदै सहिदका महान् उद्देश्यलाई प्रतिगामी तत्वले कुल्चँदै आएको छ । नेपालमा यो दुःखद् शृङ्खलामा पछिल्लोपटक प्रचण्ड–बाबुरामहरू जोडिए । यस्तो गलत विरासतको अन्त्यको निम्ति सङ्घर्ष नै पहिलो कार्यसूची हो ।
अग्रगामी परिवर्तन र मानवमुक्तिकै लागि नेपालमा जनयुद्ध भएको थियो । जनयुद्ध सबैखाले दासता र पराधीनताको अस्वीकृति थियो । यही अभिव्यक्ति स्वरूप जनताले महान् बलिदान गरे । नेपालको इतिहासमा यो बलिदान अद्वितीय छ । जनयुद्धमा अभिव्यक्त भएको महान् त्याग र समर्पणले सामन्ती राजतन्त्रको गजुरलाई धुलोमा सुताइदिएको भए पनि अग्रगामी परिवर्तनका ढोकाहरू पुनः अवरुद्ध हुने अवस्थामा पु¥याइएका छन् । सहिद कुनै एक्लो व्यक्ति होइन, त्यो मुक्ति, क्रान्ति, प्रगति, न्याय, समानता, र अग्रगामी परिवर्तनको समष्टि हो । यो गद्दारी, आत्मसमर्पण, बेइमानी र विसर्जनविरुद्धको खबरदारी पनि हो । यो त्याग, बलिदान, समर्पण, उदात्तता, मानिसको सुन्दर भविष्य र जनकल्याणको प्रतिबिम्बन हो । यो मुक्ति र स्वतन्त्रताको कहिल्यै ननिभ्ने ज्योतिपुञ्ज हो । त्यसैले सहिदसँग जीवनको स्पन्दन छ, सुन्दरता छ, गन्तव्य छ र परिवर्तनको अविरल धारा छ । मावनमुक्ति, उन्नति र प्रगतिका मूल्य, विचार र आदर्शहरूमा सहिद बाँचेको हुन्छ । सहिदको आदर्श ओझेलमा पार्नु भनेको अधोगति हो । हामीले इतिहासको यस सङ्गीन घडीमा महान् सहिदहरूको सपना साकार तुल्याउन प्रतिवद्धता जाहेर गर्ने सन्दर्भ पनि हो ।
सहिदका सपना पूरा भएका छैनन् । हाम्रा अगाडि महान् सहिदहरूका रगतले लेखेको इतिहास, उनका जीवनोत्सर्ग, आस्था, बलिदानका सपना र विचारको निष्ठाले औंला ठड्याएर आज पनि सचेतना दिइरहेको छ कि नयाँ नेपाल निर्माणको सपना नभुल्नू, सर्वहारावर्गको राज्यव्यवस्था स्थापनाको सङ्कल्प नछोड्नू, सामनता, न्याय र स्वतन्त्रताको समाज स्थापना गर्ने दृढ अठोट नबिर्सनू, सामन्ती र साम्रान्वादी उत्पीडन, दमन र शोषण विरुद्ध सधैँ जागिरहने निष्ठा र समर्पणलाई नछोड्नू आदि । तिनले हामीलाई प्रतिरोध संस्कृति, त्याग, बलिदानको संस्कृति र वर्गसङ्घर्षको संस्कुतिलाई निरन्तर अगाडि बढाउन सन्देश दिइरहेका छन् । शौर्य, साहस र वीरताको १० बर्से जनयुद्ध वर्गसंस्कृतिको स्मरण गराइरहेछन् ।
मुक्तिका लागि क्रान्ति–बेदीमा आत्माहुति चढाउन तयार रहनु आजको आवश्यकता हो । विगतमा शासकका बर्बर र अमानवीय तानाशाही सत्ताले क्रूरताको पीरामीड खडा गर्यो। तिनले वर्गीय विचार र आस्थामा धावा बोले तर जनताले त्यसको सशक्त प्रतिरोध गरे । त्यो निरन्तर सङ्घर्षको सन्देश पनि थियो । त्याग, निष्ठा र समर्पणको निरन्तर आत्मसातीकरणबिना हामीले अग्रगमनको यात्रा गर्न सक्तैनौँ । वर्गमुक्तिको यात्रामा वर्गचेतना, वर्गप्रेम र वर्गघृणालाई साम्यवादको युगसम्म जीवित राख्ने र वर्गसङ्घर्षलाई लगातार अघि बढाउँदै सर्वहारावर्गलाई अन्तिम विजय नहुँदासम्म सङ्घर्ष जारी राख्ने प्रतिबद्धतालाई आजको एकीकृत जनक्रान्तिमा जोड्न आवश्यक छ । सहिदका सपना जिउँदै छन्, जनताको आमूल परिवर्तनको आकाङ्क्षा ताजै छन् । यो बेला विचार, बलिदान, विश्वास र रूपान्तरणलाई तिलाञ्जली दिएर प्रतिक्रियावादसामु लम्पसार परेका प्रचण्ड–बाबुरामहरू नकारात्मक प्रतिबिम्बलाई पनि भुल्नुहुँदैन, किनकि यी नेपाली राजनीतिका अक्षम्य भयानक नकारात्मक बिम्ब हुन् ।