-उमेश सापकोटा
चीनमा हालसम्म विभिन्न कालखण्डमा सर्वशक्तिमान नेताको नाम लिँदा क्रमशः संस्थापक अध्यक्षमाओ त्से तुङ, देङ स्याओ पिङ र वर्तमान राष्ट्राध्यक्ष सि जिन पिङको नाम लिने गरिएको छ भने आउने दिनमा यो क्रम हेरफेर हुने सम्भाव्यता पनि उत्तिकै देखिँदै आएको छ । त्यस्तै यी नेताहरूप्रति अन्य देशको आफ्नो स्वार्थ अनुकूल हेर्ने आफ्नो आफ्नो दृष्टिकोण पनि रहँदै आएको छ । चिनियाँ जनताको पनि उनिहरूलाई हेर्ने दृष्टिकोणमा समानता छैन ।
मुख्यतः चीनको नयाँ पुस्ता माओलाई सम्झँदा उच्च सम्मानका साथ सम्झने गर्दछन् । माओ नेतृत्वको राष्ट्रिय मुक्ति आन्दोलन र समाजवादी क्रान्तिले चीनलाई स्वतन्त्रता स्वाधिनता दिलाएको र त्यसको जगमा नै चीनले यो उचाइ हासिल गरेता पनि आर्थिक उदासिनता, चरम भोकमरी र साँस्कृतिक क्रान्तिको दौरानमा भएका साँस्कृतिक धरोहरमाथिको आक्रमण र ध्वंसात्मक गतिविधिलाई उनिहरू गम्भिर गल्ति र कमजोरीको रुपमा लिने गरेका छन् ।
चीनमा देङ स्याओ पिङ सत्तामा आएपछि उनले छापामारलाई तालिम दिनेलगायत कार्य बन्द गरे । राजनीतिको मूल अभिष्ट जनताको तल्लो तहसम्म विकास पुर्याउनु हो, केन्द्रसम्म उनिहरूको पहुँच विस्तार गराउनु हो, न कि जबर्जस्त नीति लादेर उनिहरूमाथि राज गरिरहनु । भन्ने देङको धारणा थियो । त्यसैले उनले आर्थिक विकासलाई एकमात्र ध्येय बनाए १९७८ मा राष्ट्रप्रमुख भएयता एक दशक आन्तरिक विकास दर्हो बनाउन लागि परे । उनको प्रख्यात भनाइ नै थियो, ‘बिरालो कालो होस् या सेतो त्यस्को काम मुसा मार्ने नै हो’ उनको यो नीतिले चीनमा ठुलो परिवर्तन ल्याएको थियो । राजनैतिकरुपमा कम्युनिष्ट चरित्र बोकेको देश भइकन पनि यसले अर्थनीति पुँजीवादी चरित्रको अँगाल्यो यही नीतिका कारण चीनमा राजनैतिक स्थायित्व छ र आर्थिक विकास तिव्रताका साथ अघि बढ्दै संसारको दोस्रो ठुलो अर्थतन्त्र बन्न सफल भएको छ । चीनले राजनैतिक र आर्थिक प्रणाली दुवैलाई समात्यो उनिहरूले पुँजीवादी समाजवादी प्रणालीको मिश्रण तयार पारे । यसले चीनमा कारखानाको लाइन लाग्यो । बेरोजगारी घट्यो । आम्दानी बढ्न थालेपछि संसारभरका राम्रा चिजहरू आयात गर्ने थालेपछि आयात प्रतिस्थापन गर्ने देश भित्रे । संसारभरका प्रतिष्ठित ब्राण्ड उत्पादन गर्न थाले । यसरी समयअनुसार आर्थिक नीति परिवर्तन गर्न सकेकैले चीनले आश्चर्यजनक सफलता हात पार्यो । जबसम्म देशमा चरम गरिबी रहिरहन्छ आज नभए भोलि दङ्गा त हुन्छ नै । समयमै गरिबी निवारणमा सरकारले भूमिका नखेले सुखै छैन । देङले चिनियाँलाई सक्रियतापूर्वक आर्थिक गतिविधिमा सामेल गर्न गम्भिर भएर लागे । त्यसैले चिनियाँहरू देङलाई आर्थिक सुत्रधारका पिता, उनको भूमिकालाई चिनियाँहरू शरिरमा रगतको जस्तो भूमिका हुन्छ, त्यस्तै देङको अर्थ नीतिलाई उनिहरू सरिरमा बग्दै गरेको रगतको भूमिका जस्तो मान्छन् । चिनियाँहरूले प्रगति गर्नुमा हारप्रति लज्जाबोध गर्ने उनिहरूको बानी पनि प्रमुख हो । चिनियाँहरू कार्यालयबाट घर फर्कन हतार गर्दैनन् त्यसो गर्नुको अर्थ कि बिरामी हुनु हो या त जागिर छोड्नु । ‘वर्क इथिक’ देशको विकास गर्ने सबैभन्दा ठुलो औजार हो यसले आफ्नो उत्पादनमा गर्व गर्न सिकाउँछ । यसअतिरिक्त देशभक्त र राष्ट्रवादी चिन्तन विकासको अर्को कारण हो ।
देङको त्यही अर्थ राजनैतिक नीतिमा टेकेर चीनले आफ्नो व्यापार संसारभरी फैलाएको छ । चीनको महत्वाकाङ्क्षी आर्थिक परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (BRI)मार्फत चीनले अफ्रिकी मुलुकहरू नाइजेरिया, केन्या, इथियोपिया, जाम्बिया, कङ्गो आदि देशमा ठुलो लगानी गरेको छ । चीनले यी देशमा मुख्यतः कनेक्टिभिटि, उर्जा, पर्यटन, खानी र व्यवसायिक कृषिजस्ता क्षेत्रहरूमा धमाधम लगानी गरिरहेको छ । सन् २०१५ मा (BRI ) का सुत्रधार चिनियाँ राष्ट्रपति सि जिन पिङले अफ्रिका महादेशमा छिट्टैं ६० अर्ब लगानी गर्ने घोषणा गरेका थिए जुन आज सत्य सावित भएको छ यसबाट अफ्रिकालाई आफ्नो प्रभावमा पार्न चीन कटिबध्द छ भन्ने बुझिन्छ । एसियन राष्ट्रहरूको अवस्था त्यही नै छ चीनसँग व्यापार गरेर यी राष्ट्रहरूले यतिबेला निकै फाइदा उठाइरहेका छन् ।
जति बढि राष्ट्र चीनतिर ढल्कँदैछन् उत्ति नै अमेरिकालाई तनाव बढ्दो छ । चीनको प्रभाव बढ्नु उसको व्यापार पनि बढ्नु हो । चीनको व्यापार बढ्नु अमेरिकाको व्यापार घट्नु पनि हो । व्यापार घट्नु भनेको उसको प्रभाव पनि घट्नु हो । जबसम्म चीनले व्यापारलाई प्राथमिकतामा राख्छ उसको प्रगति भइरहन्छ । छिमेकी र व्यापार साझेदार फाइदामा हुन्छन् । अर्कोतर्फ चीनले कहिल्यै पनि उपनिवेश बनाउने र आक्रमण बनाउने नीति लिएको छैन । यो नितान्त युरो -अमेरिकी साम्राज्यवादी सोच हो । युरोपेलीको विकासको प्रमुख कारण औपनिवेशिक राष्ट्रहरूको दोहन थियो ।
चीनको विकास अब केवल चीनसँग मात्र जोडिएको छैन । यो ती सबै अर्धविकसित विकासउन्मुख र अविकसित राष्ट्रसँग जोडिएको छ । जसलाई पश्चिमा शक्तिहरूले ब्रम्हलुट मच्चाइरहे ! त्यसैले चीनको उदयलाई चिनियाँहरूले साम्राज्यवादी शक्तिको पतनसँग जोडेर हेरेका छन् । चीनको विजय ती सबै राष्ट्रहरूको विजय हुनेछ जसलाई अमेरिकी साम्राज्यवादले कुनै न कुनै रुपले जकडेको छ । पिल्सिन बाध्य पारेको छ । चाहे त्यो आर्थिक, सामाजिक, राजनैतिक र साँस्कृतिक क्षेत्र किन नहोस् । त्यस्का छिटाहरू र भूराजनैतिक टकरावहरू पनि विस्तारै देखिँदै गएका छन् । त्यसैले यो टकरावलाई अन्तिम युद्धकै रुपमा चिनियाँहरूले लिएका छन् भने सि जिङ पिङलाई यस्का सारथिको रुपमा । जुन माओ र देङको नितान्त फरक र समग्र विश्वको भविष्यसँग जोडिएको छ । त्यसैले यसको अन्तिम तयारी पनि उनिहरूले गरिरहेका छन् । सिको समय साम्राज्यवादलाई अन्तिम धक्का दिने र त्यसलाई चिहानमा पर्ने समय हो । त्यसैले चीनलाई राष्ट्रपति सि जिङ पिङलाई ढिलो चाँडो माओलाई भन्दा पनि असीमित अधिकार दिने कुरामा दुईमत छैन सिको समय चीनको लागि मात्र हैन यो सम्पूर्ण विश्वको स्वतन्त्रताको प्रश्नसँग जोडिएकाले यसलाई निकै अर्थपूर्ण तवरले हेर्नु जरुरी छ ।