
– नारायण शर्मा
नेपालमा अहिले एउटा निर्णायक र ऐतिहासिक महत्वको संयुक्त र सशक्त आन्दोलन हुनुपर्ने स्थिति विद्यमान छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका तथा मानवअधिकार, मानवस्वाभिमान र मानवसम्मान लगायतका मान्छेका जीवन-मरणसँग सम्बन्धित थुप्रै समस्याहरु अत्यन्तै जटिल, गम्भीर, विकराल र भयावह बनेका छन् । यहाँसम्म कि जनताको मतबाट बनेका शासकहरुलाई जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको मात्र होइन गरीब-दुखी जनसमुदायहरुको जीवन वा मरणसँग कुनै मतलब छैन । उनीहरु देसलाई भुटेर होस् कि जनतालाई लुटेर होस् अथवा नेपाल आमालाई सुक्रीबिक्री गरेर होस् वा नेपाली छोराछोरीलाई सिक्रीमा बाँधेर होस् आफूहरु निस्फिक्री भएर चरम भोज र मोजमै मस्त र व्यस्त छन् ।
आज संसदवादी दल र व्यवस्थाका नेता-शासकहरुमा पैसा, पद, पावर र प्रसंसाप्रति परम प्रलोभन बढ्नाले र उनीहरु आफू र आफ्नो परिवार र घरबार, आसे र पासे, झोले र चम्चे, गुन्डा र ग्याङ्ग, दास र दलाल अनि बढीमा पनि आफ्नो क्षेत्र र जाति, भाषा र धर्मप्रति मात्र सिमित र समर्पित हुने तर देस र जनताप्रति चरम गैर जिम्मेवार भएकाले नै अहिले देसको यो अनुपम दुर्गति र बेहाल भएको हो । यसरी उनीहरुले जानाजान देस र जनतालाई परमुखापेक्षी र परनिर्भर गराई देसलाई हालसम्मको अर्ध उपनिवेशको अवस्थाबाट पूर्ण उपनिवेशको अवस्थामा पुराउँदै छन् । हिजोसम्म बृटिश-भारतीय विस्तारवादको छत्रछायामा रहेको नेपाललाई अब हाम्रो सच्चा र घनिष्ठ मित्रराष्ट्र चीनलाई घेर्ने र फोर्ने मामलामा अमेरिकी र युरोपेली साम्राज्यवाद लगायतका कैयौं देसहरु समेतको चासो र चलखेलको केन्द्र बनाइएको छ ।
देस व्यापार घाटा र वैदेसिक ॠणले टाट पल्टिने अवस्थामा छ । अर्थ-राजनीतिका ज्ञाताहरुले देस श्रीलंका बन्दै गरेकोमा चिन्ता प्रकट गरिरहेका छन् भने सैन्य-राजनीतिका जानकारहरुले नेपाललाई सचेत र सुनियोजित रुपमा युक्रेनको बाटोमा अघि बढाइँदै गरेकोमा दुखका साथ सावधान हुन आग्रह गरिरहेका छन् । तर पनि अहिलेको शासनसत्तामा पकड र पहुँच पाएका घरेलु र वैदेशिक प्रतिक्रियावादी शासकहरुले नेपाललाई झन्झन् अस्थीर, अराजक र अस्तव्यस्त पार्दै अस्तित्व संकटकै अवस्थामा पुराइरहेका छन् । इतिहासमा कहिल्यै कसैको गुलाम न बनेको नेपाललाई आज २१औं शताब्दीको समानता, स्वतन्त्रता, स्वाधीनता, स्वाभिमान र समृद्धिको युगमा आएर पो दरिद्रतम गुलाम बनाउने हर्कत गरिरहेका छन् ।
यी सम्पूर्ण कुराहरु देसका देसभक्त, वामपन्थी र क्रान्तिकारी भनिएका शक्तिहरु र तिनका शीर्ष र शक्तिशाली नेता-शासकहरुलाई यथेष्ट जानकारी छ । आफ्ना पार्टी र राज्यसंयन्त्रहरुका दस्तावेज र विधिविधानहरुमा देसको यो अवस्थालाई फेर्ने घोषणा गरिएका केही कुराहरु कोर्ने पनि गरेका छन् तर पनि किन देस र जनताको यो दुखद दुरावस्था बनाउने यो दलाल व्यवस्था र यसमा हुकुम-हैकम चलाइरहेका र हालीमुहाली गरिरहेका दलाल र गुलामहरुलाई घेर्ने र फोर्ने अनि देसको यो दयनीय अवस्थालाई फेर्ने दिशामा एकजुट भएर आइरहेका छैनन् त ? अहिले नेपालमा यो नै एउटा अहं महत्वको गम्भीरतम यक्ष प्रश्न बनेको छ !