काठमाडौं । प्रदर्शनकारीहरुको तोडफोड र आगजनीबाट काठमाडौंका प्रमुख सरकारी निकायहरु ध्वस्त भएपछि सेना परिचालन भएको थियो । पुतली सडकको पद्मोदय चोकदेखि सिंहदरबार गेट रणमैदान जस्तो देखिन्थ्यो । ट्राफिक प्रहरी परिसरको भवन दन्दनी बलिरहेका थिए। सिंहदरबार मूलगेट अगाडिका सडकमा गाडी र जलेका मोटरसाइकल यत्रतत्र थिए । महान्यायाधिवक्ता कार्यालयको भुईंतलातिर धुवाँ उडिरहेको थियो।
सर्वोच्च अदालतभित्रका सबै कागजात जलेर खरानी भएका छन्। महान्यायाधिवक्ता कार्यालयतिरको भागबाट आगोको मुस्लो निस्किरहेको थियो । खण्डहर बनेको भवन भित्र बाकी खरानी। सिंहदरबारको मूल भवनसहित अरु ठाँउबाट धुवा निस्किरहेको थियो । जिल्ला प्रशासन कार्यालय पूरै भग्नावशेसमा परिणत भइसकेको छ। आगोको ताप अझै बाँकी छ। तर, कुनै कागजात बाँकी छैन।
माइतीघर मण्डल वरपरको सडकमा इँटा, ढुंगा र सिसाका टुक्राहरु यत्रतत्र थिए । ढुंगा प्रहारका कारण दुई वर्षअघि एकै ठाँउमा निर्मित विशेष सरकारी वकिलको कार्यालय र काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयको सिसा फुटेको थियो।
गाडीहरुको शोरुम रहेको माइतीघरदेखि थापाथली सडकका कैयौ अटो(शो(रुमहरु जलाइएका छन् । सोरुमको सिसा फुटाइएको थियो भने भित्रका गाडी जलेका देखिन्थे ।
महेन्द्रा, हुण्डाई लगायत अरु ब्राण्डका सोरुम क्षतविक्षत थिए । कान्तिपुर परिसर अगाडि रहेको र केही महिनादेखि सञ्चालनमा आएको सोरुममा क्षति पुर्याइएको थियो ।
प्रदर्शनकारीहरुले कान्तिपुर दैनिकको कार्यालय रहेको थापाथलीस्थित भवनमा आगजनी गरेर क्षति पुर्याएका थिए । उक्त भवनको विभिन्न तलामा आगजनीबाट क्षति पुगेको छ ।









































