१ भदौ २०८३
साउन २७ गते बुधबार राती पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई आज सर्वोच्च अदालतमा उपस्थित गराइँदै छ । जनआस्था साप्ताहिकका प्रधान सम्पादक श्रेष्ठको पक्राउविरुद्ध उहाँकी श्रीमती सरस्वती श्रेष्ठले बिहीबार दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको थियो । शुक्रबार पत्रकार श्रेष्ठको पक्षबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई र रमेश बडालले बहस गर्नुभएको थियो ।
बहालवाला सांसद र एक महिलाको व्यक्तिगत सम्बन्धका विषयमा प्रकाशित समाचारलाई लिएर परेको उजुरीका आधारमा वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले बुधबार राती नै उहाँको घरमा र बिहीबार बिहान जनआस्था साप्ताहिकको कार्यालयमा खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री जफत गरेको थियो। आज जफत गरिएका सामग्रीसहित अदालतमा उपस्थित गराउन आदेशमा भनिएको छ ।
विश्व प्रेस काउन्सिलका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठ प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष एवं नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुनुहुन्छ । उहाँलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा खानतलासी गरेको विषयमा नेपाल पत्रकार महासंघ, नेपाल मिडिया सोसाइटी, विश्व प्रेस काउन्सिल लगायत विभिन्न राजनीतिक दलहरुले विरोध गर्दै निःशर्त रिहा गर्न माग गर्दै आएका छन् । प्रेस काउन्सिल नेपालले प्रकाशित समाचारको विषय प्रेस काउन्सिल नेपालको क्षेत्राधिकार रहेको प्रष्ट पारेको छ।काउन्सिलले सञ्चार सामग्री जफत गरिएको विषयमा जनआस्था साप्ताहिकको कार्यालय अनुगमन गरेको छ ।








































