काठमाडौँ ।
पूर्वसांसद, वामपन्थी नेता तथा समाजसेवी स्वर्गीय गणेश पण्डितको ८०औँ जन्मजयन्तीको अवसरमा नेता पण्डितको व्यक्तित्व र कृतिमाथि गरिएका शोधका शोधकर्तालाई सम्मान गरिएको छ । शनिबार काठमाडौँमा भएको कार्यक्रममा नारायण नेपालले गर्नुभएको नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डित एक अध्ययन शीर्षकको शोध र कमला महतले गर्नुभएको कालापानी कविता सङ्ग्रहका कवितामा समाजवादी यथार्थवाद शीर्षकको शोधमाथि समीक्षा गरियो । गणेश पण्डित स्मृति केन्द्र, नुवाकोटले आयोजना गरेको कार्यक्रममा शोधार्थीहरु नेपाल र महतलाई नगदसहित सम्मानसमेत गरिएको छ । स्वर्गीय नेता पण्डितको राजनीतिक सामाजिक योगदानको उजागर गर्न शोधमार्फत भूमिका निर्वाह गरेकाले सम्मान गरिएको स्मृति केन्द्रका अध्यक्ष कुमार पण्डितले जानकारी दिनुभयो ।
सोह्रखुट्टेस्थित लेखनाथ सदनमा आयोजित कार्यक्रममा पण्डितको राजनीतिक, सामाजिक तथा वैचारिक योगदानमाथि चर्चा गरिएको थियो। प्रा. डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नारायण नेपालको ‘नेपालको वामपन्थी आन्दोलनमा गणेश पण्डित : एक अध्ययन’ विषयक शोधपत्रमाथि नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले समीक्षा गर्नुभएको थियो।यस्तै कमला महतको ‘कालापानी कविता सङ्ग्रहका कवितामा समाजवादी यथार्थवाद’ विषयक शोधपत्रमाथि उपप्राध्यापक ऋषिराम खनालले समीक्षा गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले नुवाकोटको शिखरबेशीमा जन्मिएका गणेश पण्डितले नेपाली वामपन्थी आन्दोलन, राष्ट्रिय राजनीति तथा सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गरेका थिए। उनीहरूले पण्डितको राजनीतिक जीवन, वैचारिक प्रतिबद्धता र समाजसेवाका पक्षलाई आगामी पुस्तासम्म पुर्याउन अनुसन्धान तथा अभिलेखीकरणको आवश्यकता रहेकोमा जोड दिए।
कार्यक्रममा पण्डितको योगदानको स्मरण गर्दै उहाँसँग जोडिएका राजनीतिक, सामाजिक तथा साहित्यिक पक्षमा थप अध्ययन र अनुसन्धान हुनुपर्ने धारणा पनि व्यक्त गरिएको थियो। गणेश पण्डित स्मृति केन्द्रले उहाँको योगदानलाई जीवन्त राख्ने उद्देश्यले विभिन्न अध्ययन, अनुसन्धान तथा स्मृतिमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ।























































