काठमाडौं : माघ २६, प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा समस्या देखिएपछि आइतबार राष्ट्रिय योजना आयोगको बैठक कार्यक्रम छोट्याएका छन् । आयोगको कार्यालय सिंहदरबारस्थित सभाहलमा आयोजित ४७ औँ बैठकमा आयोगका अध्यक्षसमेत रहेका ओलीले मन्तव्य छोट्याएका हुन् ।
आइतबार ४ बजेदेखि सुरु भएको बैठकमा उपस्थित प्रधानमन्त्री ओलीले पूँजीगत खर्च सन्तोषजनक हुन नसकेको उल्लेख गरे । बैठकमा उनले आफ्नो स्वास्थ्यमा समस्या आएका कारण कार्यक्रम छोट्याउनु परेको बताए । ‘स्वास्थ्य समस्याका कारण बैठकमा अबको अध्यक्षता माननीय उपप्रधानमन्त्रीले गर्नु हुनेछ,’ बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘उहाँले नै मेरो तर्फबाट बोल्नु हुनेछ ।’
आयोगको बैठकमा प्रधानमन्त्रीले अध्यक्षता गर्दै सदस्यका जवाफ दिने प्रक्रिया हुन्छ । बैठक यस्तै प्रक्रियाबाट सुरु भए पनि प्रधानमन्त्रीको स्वास्थ्यमा आएको समस्याका कारण रक्षा तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले बैठकको अध्यक्षता गरेको आयोगका एक सदस्यले जानकारी दिए ।