काठमाडौं : माघ २६, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बालुवाटारमा रहेको ललिता निवासको जग्गाा हिनामिना गर्नेहरुलाई आफ्नो पार्टीले कारबाही गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेर मुख्य अभियुक्तहरूलाई जोगाएको बताएको छ । पार्टी प्रवक्ता प्रकाण्डले आइतबार विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीले सामाजिक दायित्व र जनताको मागबमोजिम ललिता निवासकाण्डका दोषीहरूलाई कारबाही गरेपछि त्यसको बाध्यात्मक उपजका रूपमा केपी वली सरकार र सरकारी पार्टीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अघि सारेको र मुख्य अभियुक्तहरुलाई बचाउन खोजेपनि आफ्नो पार्टी उचित समयमा कारबाही गर्ने दाबी गरेको छ । त्यस्तै विज्ञप्तिामा अख्तियारको कदमले सरकार, सत्तारूढ पार्टी र भ्रष्ट तथा कमिसनखोरहरूको अनुहार उदाङ्गो पारेको बताईएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अख्तियारले सरकार र सत्तारूढ पार्टीको प्रभाव र निर्देशनमा मुख्य अभियुक्तलाई उन्मुक्ति दिने गरी ललिता निवासकाण्डलाई किनारा लगाउन खोजेको छ । अख्तियारले सरकार, सत्तारूढ पार्टीको दबाब र निर्देशनमा उन्मुक्ति दिएका राजनीतिक, न्यायिक, प्रशासनिक क्षेत्रका ललिता निवासकाण्डका मुख्य अभियुक्तलाई हाम्रो पार्टीले उचित समयमा कारबाही गर्नेछ ।’
केही समय अघि विप्लव नेतृत्वको नेकपाले ललिता निवास जग्गा हिनामिनामा मुख्य अभियुक्त मानिएका शोभाकान्त अर्यालको घरमा बम बिष्फोट गराएको थियो । भने बालुवाटारको ललिता निवासमा कालो व्यानर गाड्नुका साथै बम समेत राखेको विभिन्न समाचार माध्यमहरुले समाचार प्रकाशित गरेका थिए ।
यस्तोछ विज्ञप्ति