बलराम तिमल्सिन **
कहाँ जान भनेर हिडेको बटोही कहाँ पुग्ने रहेछ । नयाँ जनवाद , समाजवाद र साम्यवादको सपना बोकेर हिडेको यौटा विद्रोही कमाण्डर साम्राज्यवादको हातबाट नोवेल शान्ति पुरस्कार ” गद्दारीको प्रमाण पत्र” पाउँन गिडगिडाएको र पिछलग्गु हनुमानहरूले ‘जयजय’ गरेको देख्नु पर्ला भनेर टाउकोमा कात्रो वाँधेर दुश्मनको किल्लामा लड्न हिडेका कुनै योध्दाले सोचेका थिएनन् । एक थुप्रो हाड छाला बचाउँनको लागि जनताका दुश्मनसँग कलात्मक र किस्तावन्दी आत्मसमर्पण गर्दै पहिले जनसत्ताको विघटन, त्यसपछि जनसेनाको विघटन र अन्तमा एक थान थोत्रो पार्टी पनि एमालेको घुर्यानमा मिल्काएर आफू र आफ्ना जहान परिवारलाई सत्ता-सुखको रसपान गराउँन सफल व्यक्तिलाई तमाम सहिद परिवार , जनयुध्दका कार्यकर्ताहरू, श्रमजीवि वर्ग र उत्पीडित जन समुदायले अन्तर मनदेखि नै धिक्कारेका छन् । सिङ्गो वर्ग संघर्षलाई आत्म समर्पणमा लगेर सिध्याउँने पात्रले पश्चातापवोधले आत्मसमर्पण गर्नु पर्ने हो ।
उल्टै मैले के के गरें भनेर साम्राज्यवादसँग पुरस्कारको भिख मागेको देख्दा एउटा इमान्दार कम्युनिष्टको शिर लाजले झुक्छ , घृणाले आत्मा जल्छ र क्रोधले असैह्य पीडा हुन्छ । जसलाई लाज हुनु पर्ने हो उसलाई लाज नभएपछि वरिपरि हुनेहरूले लाज छोप्न सघाउलान भन्दा उल्टै अरु पनि नाङ्गिने प्रतिस्पर्धामा तँछाड मछाड गरेको देखिएको छ । यो वेला प्रचण्डलाई उनका आसे पासेहरूले सोध्नु पर्यो – संसारका कुन कम्युनिष्ट क्रान्तिकारीले नोवेल पुरस्कार पाएका थिए ? संसार भरिका क्रान्तिकारी कम्युनिष्टहरू त साम्राज्यवादको आक्रमणको निशानामा परे , हत्याको षडयन्त्रको घेरामा परे र घृणा र भर्त्सनाको केन्द्रविन्दूमा परे । तर प्रचण्डलाई किन मोदी पनि धाप मार्छन ? ट्रम्पले किन रिस गर्दैनन् र सिजिन पिनले पनि किन दया गर्छन् ? के प्रचण्डको प्रचण्ड प्रतापी ओजले हो ? होइन होइन , त्यो केही होइन ।वरु प्रचण्ड त दारा नङ्ग्रा फुकालेर सर्कसमा राखिएको बुढो बाघ हो / बुढो बाघले शिकार गर्दैन वरु अरुले गरेको शिकारको आश गर्छ / आधा कार्यकाल प्रधानमन्त्री पाउनु पर्ने , दुई जना हुँदा पनि पार्टी अधक्ष हुनै पर्ने र अहिले नोवेल पुरस्कारकै माग गरेर रोएको देख्दा प्रचण्ड एउटा निकृष्ट लोभी बाहुनमा पतन भएको देखिन्छ /मान्छे पतन भैसके पछी के के सोच्दो रहेछ भन्ने एउटा कुरूप उदाहरण बनेका छन् प्रचण्ड / हिजो ट्याग तपस्या र समर्पणका पर्याय बनेका प्रचण्ड आज परिवारका हरेक सदस्यलाई जसरी पनि पद दिलाउने पर्ने र आफुले पनि खाने पर्ने चुत्थो आत्मकेन्द्रित लघु-मानवमा रुपान्तरण भएका छन् /
के नेपालमा स्थाई शान्ति आइसक्यो ? के नेपालमा अव कुनै पनि प्रकारको द्वन्द छैन ? के यो देशका वर्गीय,जातीय, क्षेत्रीय तथा लैंगिक समस्या समाधान भए ? के प्रचण्डका चोरी र बुहारी मेयर र मन्त्री हुना साथ् सवै महिला मुक्त भए ? के प्रचण्डको जीवन पूँजीपति वर्गको बन्दैमा यो देशबाट गरीवी समाप्त भयो ? पूँजीवादीहरूले जति लुटे पनि हुने ,जति भ्रष्टाचार गरे पनि हुने , जति कमिशन खाए पनि हुने , जति मनपर्दी गरे पनि हुने तर जनताले फुटेको कौडी नपाउने व्यवस्था ल्याउनु नै प्रचण्डको गन्तव्य थियो ? के अजय सुमार्गीलाई डेढ दशकमा देशका इनेगिनेका अरवपाटीमा उचाल्नु नै प्रचण्डको समाजवाद र समृद्धिको नमूना हो ? के जनतालाई धोका दिएर दुश्मनको सेवा गरेको कारणले प्रचण्डलाई पुरस्कृत गर्नु पर्ने ? अहँ प्रचण्ड पुरस्कृत गरिनु पर्ने मानिस होइनन वरु दण्डित हुनु पर्ने मान्छे हुन / जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद ल्याउँने सपना देखाएर त्यसलाई चुत्थो गणतन्त्रमा बिसाउने उनको वेइमानीको उनले भागीदार हुनु पर्छ / कमसेकम उनले – ‘मैले प्रयत्न गरेको हो सकिन , मरिन्छ भन्ने डर लाग्यो भनेर जनतासँग माफी माग्नु पर्थ्यो / उनीमाथि बाबुराम भट्टराई लगायतले अरवौं भ्रष्टाचार गरेको आरोप लागेको छ , त्यो आरोपको उनले सफाई दिनु पर्थ्यो/ माफी माग्नु र सफाई दिनु त कता हो कता उल्टै मैले नोवेल पुरस्कार पाउने महान काम गरेकोले मलाई पुरस्कार दिनु पर्यो भनेर माग्नु उनको लाज्जाको विषय हो / माओवादी आन्दोलन विभाजित हुदै आज त्यसको एउटा धारा प्रचण्डकै अगुवाईमा एमालेमा पुगेर जसरी विसर्जित भएको छ त्यो कुराको मुख्य जिम्मेवारी प्रचण्डको हुन्छ / हिजो जनयुध्द कालमा सफल नेतृत्व गरेको मुख्य जस जसरी उनलाई जान्छ त्यसै गरे चुन्वांग वैठकबाट लोकतान्त्रिक गणतन्त्रको बाटो हुदै समस्त उपलव्धिहरूलाई पूँजीपतिहरूका नारासँग साटेको र जनायुध्दको धारा आज अपमानित हुनु परेको कुराको जिम्मा उनले नलिए कसले लिन्छ ? आआफ्नो जिम्मेवारी अनुसारको जिम्मा त सवैले लेलान , तर पार्टीमा सर्वेसर्वा प्राधिकार बनेर अरुलाई ताली मात्र पिट्ने बनाएर र कैयन काम पार्टी कमिटिको निर्णय बेगर आफु खुसी गरेर बिग्रिएको जिम्मा कसले लिन्छ ? जस्तो कि पछिल्लो पटक माओवादीलाई एमालेमा मिसाउने निर्णय उनी एक्लैले गरे / यो एकता पछि आज माओवादीहरू जसरी एमालेभित्र निरिह भएर बस्नु परेको छ त्यो कुराको जिम्मा किरणले लिने हो र ? पक्कै पनि प्रचण्डले लिनु पर्छ /
हो हिजो प्रचण्ड पार्टी भित्र सवैका आशा र भरोसाका केन्द्र थिए / पार्टी भित्र मात्र होइन बाहिर पनि सर्वहारा श्रमजीवी वर्ग तथा उत्पीडित समुदायको लागि उनी मुक्तिदाता नै थिए र त्यो धेरै हद सम्म सही थियो / एउटा कालखण्डमा राम्रो र महान काम गरेको नेतृत्वले अर्को समय र परिस्थितिमा उसै गरी ठुला ठुला गल्तीहरू पनि गर्ने रहेछ / मूलत शान्ति प्रक्रियामा आए पछि प्रचण्डबाट दुश्मनका अगाडि घुँडा टेक्ने भयानक गल्तीहरू भए / आफ्नो वर्गको पक्षधरताबाट विमुख वनेर स्वयंलाई पूँजीपति वर्गको प्रतिनिधि बनाउने वेइमानी भए / आफु मात्र होइन आफ्नो वरिपरी रहेको नेतृत्वको पंक्तिलाई पनि उनले दक्षिणपन्थी बनाउन ठूलो भूमिका खेले / भित्र भित्रै चन्दा घुष र कमिशन बटुलेर रातारात नोकरशाह पूँजीपति वर्गमा एउटा टीमलाई नै बदल्न उनी सफल भए / जनता र कार्यकर्ताका समस्यालाई ‘हुन्छ हुन्छ , मा छु’ भन्दै लगातार पूँजीवादी बाटोमा उनी हिडे र कसैका कुरा नसुनी कुनै कमिटीलाई थाहा नदिई उनी पूँजीवादी शिविरभित्र छिरे / आफुलाई सुरक्षित र अमर बनाउन अव उनलाई नोवेल पुरस्कारको भोक तिर्खा लाग्यो / बच्चाले जस्तै त्यो पनि मागिहाले / तलबाट कविरहरूले परर ताली पिट्दै भने – हो हाम्रा गौरवशाली कमरेड लाई नोवेल पुरस्कार दिने पर्छ / तालीको कर्तल ध्वनिको बिचमा कुम मच्चाउदै दुवै हातका बुढी औंला वृताकार रेखामा घुमाउदै छविराम बाहुन पुरानै लवजमा खित्खिताए /
पुष्पकमल दाहाललाई नोवेल पुरस्कार दिएर यो देशका श्रमजीवी जनातालाई केही फाइदा हुने छैन / त्यो पुरस्कारले फाइदा यो देशका दलाल पूँजीपति र साम्राज्यवादलाई नै हुन्छ /पुष्पकमल दाहाल र केपी वलीजस्ता संसोधनवादी हरूलाई देखाएर – लु हेर कम्युनिष्ट भनेका यस्ता निर्घ्रिणी हुन्छन भनेर संसार भरका कम्युनिष्टहरूलाई वदनाम गराउन यिनीहरू नमुना हुन सक्छन / त्यसै भएको हुनाले साम्रज्यवादकै रणनीति अनुसार यो नोवेल पुरस्कारको हल्ला चलाइएको हुन सक्छ / अर्को कुरा सग्लै जनयुध्दलाई बिसाएर पूँजीवादको इमान्दार नोकरको रुपमा सेवा गरे वापत मैले केही पाउनु पर्ने हो भन्ने बिचार प्रचण्डको दिमागमा आएको हुन सक्छ र यो गुणको वदला उनलाई साम्राज्यवादले गुलियो बचन दिएको पनि हुन सक्छ / प्रचण्डले नोवेल पुरस्कार पाए पनि त्यो जनताको लागि काम नलाग्ने र केही गरेर अन्त्यमा वहाना बनाएर दिएन भने पनि त्यो प्रचण्डलाई थप गलाएर पानी पार्ने चाल हुन सक्छ / एक पटक लत्रिएको मान्छे पुरस्कार नपाए पनि उठेर फेरि जनताको हुने कुनै सम्भावना छैन वरू अझ दत्त चित्तले वान्चुन्जेलमा जसरी पनि नोवेल पुरस्कार थापेर मर्ने भनेर साम्राज्यवादको चाकडी गर्ने नै सम्भावना छ / त्यसैले नेपालका क्रान्तिकारीहरू प्रचण्डको नोवेल पुरस्कार माग र शिफारिसको प्रकरणमा उत्साहित हुने होइन वरु लज्जित हुनु पर्ने अवस्था छ /









































