काठमाडौँ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले सहकारीमा सञ्चालकको मात्रै गल्तीले अहिलेको समस्या नआएको बताउनुभएको छ । राष्ट्रिय सहकारी महासंघको आयोजनामा आजबाट सुरु भएको प्रथम सहकारी डिजिटल कन्क्लेभमा बोल्दै मन्त्री गिरीले सञ्चालकको मात्रै गल्तीले सहकारीमा समस्या नआएको बताउनुभयो । उहाँले सरकारको नियमन कार्यशैलीमा पनि प्रश्न गर्नुभयो ।
सहकारीबाट ऋण लिएर ठुला ठुला हाउजिङ र गाडीमा लगानी गर्दा राज्य र नियमाक निकाय कहाँ थियो ? उहाँले भन्नुभयो । सहकारीको नियमन गर्न बसेका निकायहरुले राज्यबाट सुविधा लिने तर यति ठुलो समस्या आउँदा ध्यान नदिनु दुखःद् भएको उहाँको भनाइ छ । सदस्यको बचतबाट ऋण दिएकाले समयमै ऋणको साँवा, ब्याज चुक्ता गर्न उहाँले आग्रह गर्नुभयो । ऋण नतिर्ने छुट कसैलाई नभएको भन्दै मन्त्री गिरीले कतिपय ऋणीका कारण सहकारीहरु समस्यामा परेको बताउनुभयो ।
सहकारीका सञ्चाललाई थुनेर मात्रै बचत फिर्ता नहुने भन्दै समयमै प्रभावकारी नियमन नहुँदा समस्या आएकाले समाधानको निम्ती पनि समय दिनुपर्ने उहाँको भनाइ छ । उहाँले सञ्चालकलाई जेल पठाएर सहकारीका बचतकर्ताको बचत फिर्ता हुन नसक्ने धारणा राख्नुभयो । ‘सबैलाई जेल पठाएर समस्याको समाधान हुँदैन, यस्तो कार्यले हामीले ठुलो समस्या भोग्नुपर्ने हुन्छ, बेलैमा सचेत बन्नुपर्छ,’ उहाँले भन्नुभयो ।
मन्त्री गिरीले सहकारी नियमनका लागि छुट्टै नियामक निकाय आवश्यक रहेको र राष्ट्र बैंक जस्तै निकाय आवश्यक भइसकेको बताउनुभयो । पारदर्शिताको अभावले केही सहकारीमा समस्या आएकाले प्रविधिमा साक्षत्कार हुँदै सहकारी अगाडी बढ्न सुझाव दिनुभयो ।








































