नुवाकोट ।
भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको भीषण बाढीका कारण नुवाकोटमा ठूलो मानवीय तथा भौतिक क्षति भएको विवरण जिल्ला प्रशासन कार्यालय नुवाकोटले निकालेको छ । प्रशासनका अनुसार १३ गते शनिबार बिहान ७ बजेसम्म बाढीमा परी ५१ जनाको मृत्यु पुष्टि भएको छ भने ४०५ जना बेपत्ता छन्।
प्राप्त शवहरुको सनाखत हुन सकेको छैन । ४० जना घाइते भएका छन् । ४०५ जना बेपत्ता भएको सूचना स्थाीनयले प्रशासनलाई गराएका हुन् । नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, तारकेश्वर गाउँपालिका र किस्पाङ गाउँपालिका बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन्। विदुर नगरपालिकाकाको वडा नं १, २, ४, ५, ७, १० र १२, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८ र ९ तथा किस्पाङ गाउँपालिका–५ को शान्तिबजार क्षेत्र मुख्य प्रभावित क्षेत्रका रूपमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाढीका कारण गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। बाढीबाट आठ सरकारी कार्यालय, तीन जलविद्युत् गृह र चार विद्यालय, १५ पक्की पुल र नौ झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन् । हालसम्म हेलिकप्टरमार्फत एक हजार ८२३ जना र स्थलमार्गबाट ८५ जनाको उद्धार गरिएको सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले बाढी तथा पहिरोको जोखिम अझै कायम रहेकाले नदी तटीय तथा अन्य जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ।









































