काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले इमान्दारिताका साथ जनताकाे सेवामा लाग्न पालिकास्तरका नेता र कार्यकर्तालाई निर्देशन दिनुभएको छ । नेकपा माओवादी केन्द्र नुवाकोट काठमाडौँ सम्पर्क समन्वय समितिको तेस्रो पालिका सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तामाङले देश र जनतालाई दुख दिने कम्युनिष्ट हुन नसक्ने बताउनुभयो । ‘राजनीतिमा तत्काल फाइदा लिन सके पनि दीर्घकालमा उनीहरुको राजनीति भविष्य समाप्त भएको धेरै उदाहरण छन्’ उहाँले भन्नुभयो, ‘तपाईंहरु पनि इमान्दारिपूर्वक काम गर्नुस् । जनताको सेवा गर्नुस् तत्कालको फाइदा र स्वार्थ नहेर्नुस् ।’
उहाँले कुनै पनि पार्टी मजबुत र चलायमान हुन स्थानीय पालिका बलियो हुनुपर्ने बताउनुभएको छ । ‘पार्टी त्यतिबेला बलियो हुन्छ जतिबेला उसको स्थानीय पार्टी संगठन एकदम मजबुत र चलायमान हुन्छ ।’ उहाँले प्रस्ट पार्नुभयो । कुनै पनि नेता कार्यकर्ता व्यक्तिगत फाइदाका लागि क्रान्तिकारी पार्टीमा लामबद्ध नभएको भन्दै उहाँले पार्टी र तल्लो स्तरका जनताको सर्वोपरी हित ध्यानमा राखेर सोचविचार गरेर स्थानीय तहका नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो ।








































