काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले नेपाल भौगोलिक र जनसाङ्ख्यिकरुपले सानो मुलुक भए पनि अभौतिक सांस्कृतिक सम्पदाको दृष्टिले धनी मुलुक भएको बताउनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले ललितपुरमा सुरु गरेको तीन दिने अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारीसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठीमा बोल्दै उहाँले नेपालमा अभौतिक सांस्कृतिक सम्पदाको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न सकिने बताउनुभयो ।
अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको उहाँको भनाइ थियो । भौगोलिक, जातिय, भाषिक एवं सांस्कृतिक विविधताभित्र धेरै सांस्कृतिक सम्पदा रहेको भन्दै उहाँले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय एवं प्रतिवेदन तयारीमा सहभागी सबै पक्षलाई नेपालको सांस्कृतिक विविधता झल्कने गरी प्रतिवेदन तयारी गर्न आग्रह गर्नुभयो