चितवन, ६ असार ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्षभित्रै भरतपुर विमानस्थलको विस्तार भइसक्ने बताउनुभएको छ । श्री एयरको जहाज परिक्षण उडानका क्रममा भरतपुर पुग्नुभएका मन्त्री तामाङले यसै वर्ष धावनमार्गको विस्तार, नयाँ टर्मिनल भवनको निर्माण सकेर भरतपुर विमानस्थललाई चौबिसै घण्टा चलाउने बताउनुभयो ।
‘मेयरको अनवरत प्रयास, प्रधानमन्त्रीको पहल र सहयोग, विभागीय प्रमुखको दिलचस्वीले छिट्टै सबै काम हुँदैछ । यति चाँडै यो हदसम्मको प्रगति हुन्छ भन्ने चितवनवासीले सोचेका थिएनन् होला,’ मन्त्री तामाङले भन्नुभयो । उहाँले थप्नुभयो “सकभर कुनै बाधा, अवरोध पैदा हुन नदिने, निर्माण व्यवसायीलाई छिटोभन्दा छिटो काम गर्ने वातावरण बनाइदिने काम हामी गर्छौं।”
श्री एयरको परिक्षण उडानका क्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ भरतपुर पुग्नुभएको हो । सोक्रममा मन्त्रीद्वयले चितवनको भरतपुर विमानस्थालको विस्तार र स्तरोन्नतीमा भरतपुर महानगरको प्रयासको सराहना गर्नुभएको छ । सो अवसरमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ईं प्रदिप अधिकारी लगायतले दाहालको निरन्तरको पहलकदमीले सार्थकता पाएको भन्दै खुसी व्यक्त गर्नुभयो ।