नुवाकोट ।
नुवाकोटको बेलकोटगढी नगरपालिकाको सोमबार बसेको दोश्रो नगरसभाको चौथो अधिवेशनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पास गरेको छ । सभाध्यक्ष एंव नगरप्रमुख जगतबहादुर गुरुङले पेस गरेको नीति तथा कार्यक्रम सभाले सर्वसम्मत पास गर्दै सोही अनुसारको बजेटको लागि मार्गप्रशस्त गरेको हो ।
नगरप्रमुख जगतबहादुर गुरुङले पेस गरेको बजेटमा कृषिमा आधुनिकीकरण तथा व्यावसायिकरण, शिक्षामा गुणस्तर सहितको सिप र प्राविधिक तथा स्वास्थ्यतर्फ नगरभित्रै सर्वसुलभ उपचार सेवाको पहुँचमा नगरबासीलाई समावेश गर्ने उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमलाई नगरसभाका सदस्यहरुले सर्वसम्मत पास गरेका छन् ।
नीति तथा कार्यक्रमबारे कार्यक्रमका प्रमुख अतिथि कानून न्याय तथा मानवअधिकार समितिका सभापति एंव प्रतिनिधिसभा सदस्य बिमला सुवेदीले शुभकामना दिदैँ उत्कृष्ट बनाउन र असल कार्यान्वयन गराउन सुझाव दिनुभयो ।
यस्तै, प्रदेससभा सदस्य रामप्रसाद ढुङ्गाना, संविधानसभा सदस्य जगदिश्वरनरसिंह केसी, पूर्व सांसद् नारायणप्रसाद खतिवडा, पूर्व प्रदेश मन्त्री तथा पूर्व सांसद् केशव पाण्डे, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, बेलकोटगढीको निवर्तमान नगरप्रमुख राजेन्द्ररमण खनाल, राजनीतिक दलका प्रतिनिधिहरुले नीति तथा कार्यक्रमको व्यवहारिक कार्यान्वयनका लागि ध्यानाकर्षण गराउनुभयो ।