काठमाडौं ।
नेपाली कांग्रेसका नेता मनिष कुमार मिश्रले नेपाल भारत जनस्तरको सम्बन्ध नबिगार्न सरकारलाई चेतावनी दिनुभएको छ । सीमावर्ती क्षेत्रका नागरिकलाई अनावश्यकरुपमा बालेन सरकारले दुःख दिन थालेको भन्दै उहाँले सीमा क्षेत्रमा नेपाल भारतबिच जनस्तरको सम्बन्ध रहेको कुरा ख्याल गर्न सरकारलाई चेतावनी दिनुभएको हो ।
नेता मिश्रले बालेन सरकार बनाउन अहोरात्र खट्ने मधेशले उपहार स्वरूप सीमावर्ती क्षेत्रको किसानले पाउनुपर्ने राहतलाई तस्करीमा परिणत गराउन तम्तयार भएको आरोप समेत लगाउनुभएको छ। सीमा क्षेत्रका नागरिकले भारतबाट एक रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार तिर्नुपर्ने व्यवस्थाले सीमावर्ती क्षेत्रका जनता झन् मारमा पर्ने उहाँले बताउनुभयो । ‘सदियौंदेखि सिमावर्ती क्षेत्रको जनसमुदायले आफ्नो दिनचर्याका निम्ति थोरबहुत सामानहरू ल्याउने लैजाने गर्थे तथा भारतीय नम्बरप्लेटको गाडी राजमार्गसम्म र नेपाली नम्बरप्लेटको गाडी भारतीय रेलको प्लेटफर्मसम्म आवागमनमा सहजता दिइएको थियो । यसको कारण थियो नेपाल भारतको सम्बन्ध बिशिष्ट सांस्कृतिक सम्बन्ध हो ।’ उहाँले भन्नुभयो ।
सीमावर्ती क्षेत्रका हजारौ हजार परिवारले दुवै देशका विभिन्न गाउँहरूमा सामाजिक सम्बन्ध स्थापित गरेको र नेपाल भारतको सम्बन्ध बेटीरोटीको रहेको भन्दै उहाँले बालेन सरकारले एक सय रुपैयाँको सामानमा पनि भारतबाट ल्याउँदा भन्सार लागु गर्दा त्यहीँ पार्टीबाट चुनावताका आफूलाई बाहुबली सरह प्रस्तुत हुने नेता चुसम्म पनि नबोली लुकी–लुकी बिरालो सरह बसेको गुनासो गर्नुभयो । ‘आश्चर्यको कुरा हो, मधेशबाट जनप्रतिनिधि भएको मान्छे मधेशमा केही दिनदेखि अनाहकमा भइरहेको उपद्रोलाई कसरि टुलुटुलु हेरिरहेका होलान ?’ उहाँको प्रश्न छ । उहाँले मधेशीहरू बिना हातहतियार, बिना हिंसा सदियौंदेखि दसगजालाई रक्षा गर्दै आएको र गरिरहने जिकिर गर्दै बिशिष्ट प्रकारको सम्बन्धलाई खलबलाउन, बिगार्न विगतमा पनि प्रयास भएको तर सफल हुन नसकेको उल्लेख गर्नुभयो । यस किसिमको कुचेष्टा जसले गर्छ उ आफैँ समाप्त भएर जाने उहाँको चेतावनी छ ।







































