काठमाडौँ ।
पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण देशका ७ वटा सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएका र ४ स्थानमा एकतर्फी सडक सञ्चालनमा रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बागमती प्रदेशका काभ्रेपलाञ्चोक खुर्कोट–नेपालथोक–कटुन्जेबेसी सडकखण्डमा सवारी सञ्चालन रोकिएको छ। मकवानपुरको इन्द्रसरोवर–महालक्ष्मी सडकखण्डमा मर्मत कार्य भइरहेकाले सडक पूर्ण रूपमा बन्द गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी–कोदारी सडकखण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ। कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
गण्डकी प्रदेशमा कास्कीको पोखरा–२२ क्षेत्रमा रहेको सिद्धार्थ राजमार्गमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ भने स्याङ्जाको ब्यासेरी–बेनी–जोमसोम सडकखण्ड पूर्ण रूपमा बन्द छ। लुम्बिनी प्रदेशको पाल्पास्थित मालमुल–पाल्पा सडकखण्डमा पहिरो हटाएर सवारी सञ्चालन सुचारु गरिएको प्रहरीले जनाएको छ।
कर्णाली प्रदेशमा रुकुम पश्चिमको आठबिसकोट–रिजुगार्ड जोड्ने भेरी करिडोर अविरल वर्षाका कारण दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध छ। यस्तै, रोल्पाको परिवर्तन गाउँपालिका–१ शेलाबाङ क्षेत्रमा रहेको घोराही–रुकुम शहीद मार्गमा एकतर्फी सवारी सञ्चालन भइरहेको छ। सुदूरपश्चिम प्रदेशको बझाङस्थित छविसपाथीभेरा–जालेबगर क्षेत्रमा रहेको जयपृथ्वी राजमार्ग पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।








































