धादिङ ।
धादिङमा छोराले फलामको पाइपले हान्दा बाबुको मृत्यु भएको छ । गङ्गाजमुना गाउँपालिका–४, यार्सा टोलका ६० वर्षीय धननारायण सुनारलाई छोरा ३५ वर्षीय सुजन सुनारले तीन फिट लामो फलामको पाइपले हानेका थिए । हिजो अपरान्ह घरायसी विवादमा बाबुछोराबिच तनाव भएको थियो ।
तनावबिच फलामको पाइपले लागेर गम्भीर घाइते भएका धननारायणलाई फुलखर्क ग्रामीण अस्पताल पुर्याइएको थियो । उहाँको उपचारकै क्रममा साँझ ७ बजे मृत्युभएको अस्पतालले पुष्टि गरेको थियो ।
गङ्गाजमुना–४ का वडाध्यक्ष प्रेम घलेले घटनामा संलग्न छोरा सुजनको लामो समयदेखि मानसिक असन्तुलन रहेको बताउनुभएको छ । घटनापछि सुजनलाई जनप्रतिनिधि र स्थानीयले प्रहरीलाई जिम्मा लगाएका थिए ।
धननारायणको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने अभियुक्त सुजन जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा रहेका छन् ।









































