बैतडी, ७ माघ
पुराना जातका धानको संरक्षण नहुँदा बैतडीमा पुराना जातका धान लोप हुँदै गएका छन् । नाका, थापाचिनी, राइमनुवा, बासमती लगायतका रैथाने जात लोप हुने अवस्थामा पुगेका हुन् । सबैले उन्नत जातका धानको खेती गर्न थालेपछि पुराना तथा रैथाने जात लोप हुन थालेका हुन् ।
पुराना तथा रैथाने जातका धानको भात मीठो हुने भए पनि उत्पादन कम हुने भएकाले किसानको आकर्षण उन्नत जातमा बढेको जिल्ला कृषि विकास कार्यालय बैतडीका सूचना अधिकृत कर्णबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “उन्नत जातमा उत्पादन बढी भए पनि पुराना जातको जस्तो खानमा स्वादिलो भने हँुदैन ।”
पुराना जातका धानको बीउसमेत पाउन मुस्किल हुने गरेको पाटनका धर्मबहादुर बिष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला पहिला पुराना धानको खेती गरिने चलन भए पनि हिजोआज उन्नत जातको धानको खेती गर्न थालेपछि पुराना जातका धान लोप भइसकेका छन् ।”
पुराना जात तथा रैथाने बालीको संरक्षणका लागि जिल्ला कृषि विकास कार्यालयले समेत ठोस पहल थाल्न सकेको छैन ।






































