काठमाडौं: असोज १७, नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सरकार वार्ताको माध्यमबाट आफ्नो पार्टीलाई फसाउने षड्यन्त्रमा लागेको भन्दै तत्काल वार्ताको सम्भावना नरहेको दावी गरेका छन् । विगतमा पनि संसदवादीहरुले नेताहरूलाई वार्ताकै माध्यमबाट गलाएको स्मरण गर्दै उनले भने नेपाल कम्युनिस्ट पार्टीलाई असफल पार्न सरकार एकातिर दमन अभियान चलाइरहेको र अर्कोतिर वार्ताको जाल थापिरहेको समेत बताए ।
नेकपाको मध्यकेन्द्रीय कमान्डले मङ्गलबार आयोजना गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ को समीक्षा कार्यक्रममा इन्चार्ज सुदर्शनले आफ्नो पार्टीले सञ्चालन गरेको अभियानले पार्टीको योजना जनतासँग जोड्ने काम गरेको बताए । आफ्नो पार्टीको अभियान टिममाथि प्रशासनले व्यापक दमन गर्ने कोसिस गरे पनि अभियानकर्मीहरू जनतामा पुग्न सफल भएको र डेढ महिनाको अवधिमा मध्यकेन्द्रीय कमान्डमा दुई सय ७० वटा नयाँ सङ्गठन निर्माण भएको जानकारी पनि उनले दिए ।
मध्यकेन्द्रीय कमान्डअन्तर्गत नुवाकोट जिल्लामा आयोजित उक्त कार्यक्रममा कमान्डअन्तर्गतका ९ वटा अभियान टोली सहभागी थिए । समीक्षा कार्यक्रममा ९ वटै अभियान टोलीका नेताहरू उत्तम, शिला, अटल, प्रताप, रूपेश, राम, शङ्कर, अजय र विजयले अभियानको समीक्षात्मक रिपोर्ट राखेका थिए । प्रज्वलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन विजयले गरेका थिए भने स्वागत मन्तव्य भने आधारले गरेका थिए ।