मेरि आमा
गोर्किको आमा कहिल्यै हुनु भएन
उहाँले कहिल्यै कुनै हमलाको लागि
बारुद पुर्याउनु भएन
छापामारको चिट्ठी र गोप्य पर्चा छर्नुभएन
हो, मेरो आमा
पावेलको आमा जस्तो आमा हुनु भएन ।
र पनि मेरि आमा कहिल्यै फुर्सदमा बस्नुभएन
हरेक घन्टाको कार्यतालिका छ उनिसित
भालेको डाकमा उठ्नु हुन्छ आमा
पंधेरो झरेर पानी भर्नुहुन्छ
दुहुनो गाई छ, कुँडो पकाउनुहुन्छ
घाँस हाल्नुहुन्छ
दूध दुहुनु हुन्छ
भकारो सोहोर्नु हुन्छ
सोत्तोर हाल्नुहुन्छ
खाजा पकाएर ख्वाउनुहुन्छ, आफू खानुहुन्न
खाना पकाएर ख्वाउनुहुन्छ, आफू उब्रेको खानुहुन्छ
गोठालो, अर्म, पर्म, सबथोक आफैँ भ्याउनु हुन्छ
जुठो भाँडासंगको अन्तिम लडाइँ पछि
ओछ्यान पुग्ने अन्तिम पालो नि आमाकै हुन्छ ।
हो मेरि आमाले बिद्रोह कहिल्यै गर्नु भएन
सबै दु:खहरु मौन बसिदिनुभयो
तर मेरि आमाले
अँगेनोको आगो कहिल्यै निभ्न दिनुभएन र
आगो पैँचो दिइराख्नुभयो
अलिक धेरै पहिलो गुन्जमान काका आउनुभो र एकदिन
आमासंग आगो पैँचो माग्नुभो
अगुल्टो थमाउँदै भन्नुभो आमाले-
चु मे खाइमाई सिना आलाउ पाराङ (यो आगो कहिल्यै निभ्न नदिनु माइला) ।”
अलिक पछाडि ल्हाक्पा दाइ आउनुभो र
आमासंग उसै गरि आगो माग्नु भो
अगुल्टो थमाउँदै फेरि उसैगरी भन्नूभो आमाले-
चु मे खाइमाई सिना आलाउ ल्हाक्पा ।”
हिजो साँझ नोर्बु दाइको छोरो रिन्जेनले आमासंग
आगो माग्दै थियो
आमा धेरै बेर बाहिर निस्कनु भएन
आगो लिएर बाहिर निस्कनुभयो तर आगो थमाउनु भएन
भन्नू भयो-
आजसम्म ज जसलाई आगो पैँचो दिएँ
सबैले पैँचो फिर्ता गर्छु भन्थे तर सबैले आगो आधाबाटोमै निभाएर आए
तिम्ले पनि त्यसो गर्दैनौ भन्ने के भरोसा छ रिन्जेन?
पैँचो फिर्ता दिन नसक्नेलाई अब आगो पैँचो दिन्न म ।”
रिन्जेनले अन्तिमचोटि आमाको हात आफ्नो निधारमा राख्दै भन्यो-
माम ! ङादा बिश्वास लाउ ङाई एला मे सिना आला ।”
आमाले अन्तिम चोटि आगो पैँचो दिनुभयो ।
तर तिमी तर्सिन पर्दैन सत्ताधारी महोदय
मेरी आमा आजसम्म
अगुल्टो नचाउँंदै कुनै मसाल जुलुस जानुभएको छैन
मात्रै अन्तिमचोटी आगो पैँचो दिएकी हुन् उनले ।
मुक्तान थेवा









































