काठमाडौं : कवि मुक्तान थेबाको कविता संग्रह ‘अखण्ड आलाप’ सार्वजनिक भएको छ । अनामनगरस्थित मन्डला थिएटरमा विश्लेषक राजेन्द्र महर्जन, कवि भूपाल राई र निभा शाहले कविता संग्रह सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा थेबाका कवितामाथि टिप्पणी गर्दै बैचारिक रुपमा प्रष्ट र प्रगतीवादी भएको बताइएको थियो । विविधतायुक्त समाजमा रहेको द्धन्द्ध थेबाका कवितामा रहेको विश्लेषक महर्जनले बताएका थिए । कवि थेबाले कविता मार्फत संरचनागत विभेद्विरुद्ध प्रहार गरेको अर्का वक्ता भूपाल राईले बताए ।
थेवाको कविता संग्रह ‘अखण्ड आलाप’मा ४२ कविता समेटिएका छन् । मातृ भाषामा कविता लेख्दैआएका थेबाको नेपाली भाषामा यो पहिलो कविता संग्रह हो । यसअघि उनका संयुक्त संग्रह ‘आफर’ र ‘काकलिङ’ प्रकाशित छन् ।
‘उन्मुक्त पुस्ता’ साहित्यिक आन्दोलनका अभियन्ता कवि थेबाका कविता संरचनागत विभेद् र राज्यसत्ताको चरित्रमा केन्द्रित छन् । कविता संग्रह ‘अखण्ड आलाप’ सांग्रिला पब्लिकेशनले बजारमा ल्याएको हो ।
संग्रहभित्रै रहेको एक कविता ‘अखण्ड आलाप’बाट पुस्तकको नाम जुराइएको कवि थेबाले बताएका छन् । विविधता स्विकार नगर्ने र सिमान्तकृत समुदायलाई पेल्ने राजनीतिक प्रबृत्तिविमाथि व्यंग्यको रुपमा उनको कविता संग्रहको शिर्षक आएको हो ।