काठमाडौं, मूर्तियाकै धेरैले कुमारलाई वनको डनको संज्ञा दिन्थे। आफ्नै बारेमा उनले भनेका थिए, ‘हो, मैले जसको जोत उसको पोतको आन्दोलन चलाइ रहेको छु। त्यसकारण म वनको होइन, जनताको डन हुँ।’
५ असार ०७६ मा नेकपा विप्लव नेकपाका सर्लाही जिल्ला इन्जार्च कुमार पौडेल मारिएका छन्। सर्लाहीको लालबन्दी नगरपालिका १ को लखन्ती खोलामा प्रहरी कारवाहीमा पौडेल मारिएका हुन्।
सर्लाहीको मूर्तियाको वन तथा जग्गाको कथासँग कुमार पौडेलको उदयको कथा जोडिएको छ। पौडेलको उदय दक्षिण भारतका चलचित्रको कथा जस्तो लाग्छ, विरोधीका नजरमा उनी भिलेन थिए भने समर्थकका दृष्टिमा हिरो।

आइए उत्तीर्ण कुमार पौडेल सितेरियोका ब्ल्याक बेल्ट हुन्। सिन्धुलीका पुराना पञ्च टीकाजंग थापा उनका बुढामावली भएकोले उनको सहयोगमा कुमारले २०५३ मा कमल थापा स्थानीय विकास मन्त्री हुँदा सर्लाहीको कालिन्जोर गाविसको प्राविधिक सहायकमा जागिर पाए। काँग्रेसबाट निर्वाचित गाविस अध्यक्षसँग खटपट भएपछि उनले २ वर्षमै जागिर छाडे।
त्यसपछि एमाले प्रवेश गरे। त्यसले उनलाई ढुंग्रेखोला गाविसको प्राविधिक सहायकको जागिर खाने मौका दियो। पार्टी प्रवेश गरे लगत्तै उनलाई एमालेले युवा संघको गाउँ कमिटी उपाध्यक्ष बनाएको थियो। त्यहाँ पनि गाविस अध्यक्षसँग विवाद भएपछि उनले २०५९ मा जागिर छाडे।
एमालेमा हुँदा भित्रभित्र माओवादीलाई सहयोग गरेकाले उनलाई माओवादीले २०६० मा ढुंग्रेखोला गाविसको जनसरकार प्रमुख बनायो। बाहिर एमाले, भित्र माओवादी थिए उनी त्यतिबेला।
२०६३ मा माओवादी छाडेर चुरे भावर एकता समाजमा लागेपछि चुरे भावरले उनलाई सर्लाहीको अध्यक्ष बनायो। चुरे भावरमा लागेको तीन महिना नपुग्दै आफ्नै केन्द्रीय उपाध्यक्ष बाबु थापासँग कुमारको खुकुरी हानाहाना भयो। थापाको नेकपाले उनलाई सर्लाहीको बाग्मती पुलमा हमला गरेर घाइते बनायो भने उनको नेकपाले भोलिपल्ट थापा नेकपालाई आक्रमण गरेको थियो। त्यतिबेला कुमारको नेकपाले प्रहरीको बन्दुक खोसेको घटना चर्चित छ।
‘मेरा केटाहरुले थापालाई भेटेका भए अचार बनाउने थिए। तर, एम्बुलेन्समा भागेर जोगियो’, उनले भनेका थिए।

७ माघ २०६८ मा कुमार फेरि एमाओवादीमा फर्किए तत्कालीन माओवादी नेता सीपी गजुरेलमार्फत। त्यतिबेला उनी एमाओवादीको जिल्ला सदस्य बने। एमाओवादीबाट मोहन बैद्य अगल भएपछि २०६९ मा उनी बैद्य माओवादीको सर्लाही जिल्ला सदस्य भए। वैद्यको पार्टीले उनलाई राष्ट्रिय युवा जनस्वयंसेवक संघको जिल्ला अध्यक्ष पनि बनायो। वैद्यले २०७० को संविधानसभा निर्वाचन बहिष्कार गर्दा सर्लाहीमा ३ वटा गाडी जलाएपछि उनको दबदबा अरु बढेर गयो। वैद्य माओवादीबाट नेत्रविक्रम चन्द अलग भएपछि भने उनी चन्द नेकपाको सर्लाही सेक्रेटरी हुँदै जिल्ला इन्चार्ज बनेका थिए।
उत्थानको आधार
२१ असार ०७३ मा सरकारले प्रहरी परिचालन गरेर सर्लाहीको ढुंग्रेखोलाको धरहरा क्षेत्रको ४४० हेक्टर जग्गामा किसानले लगाएको उखु, धान र मकै बाली नष्ट ग¥यो। सामान्यतः तराई मधेशमा खेती गर्नका लागि ट्याक्टर प्रयोग गरिन्छ। तर, त्यस दिन ठीक उल्टो भयो– बाली नष्ट गर्न सरकारी खर्चमा २० वटा ट्याक्टर प्रयोग गरिए। वन तथा भूसंरक्षण मन्त्रालयको सागरनाथ वन विकास परियोजनाको सक्रियतामा पाकी सकेको बाली नष्ट गरेर वृक्षारोपण थालियो।
खाद्यान्न अभाव र खाद्य सुरक्षा झेलेको देशमा खेती महत्वपूर्ण कि वृक्षारोपणरु सहज जवाफ हुन्छ खेती। तर, सरकारी संयन्त्रलाई भने वृक्षारोपण महत्वपूर्ण लाग्यो। मन्त्रीपरिषदको १८ मंसीर २०७१ को बैठकको निर्णय अनुसार स्थानीय बासिन्दाहरुले खेती गर्दै आएको जग्गामा प्रहरी परिचलान गरेर वृक्षारोपण गरिएको थियो। वृक्षारोपणका लागि एकै दिन ४४० हेक्टरको बाली नष्ट गरिएको थियो। यो प्रकरणले स्थानीय किसान आक्रोशित भएका थिए।

सरकारले बाली नष्ट गरेपछि त्यसको प्रतिवादमा उत्रेका प्रदर्शनकारी र प्रहरीबीच दोहोरो भिडन्त भयो २१ असार ०७३ मा। सशस्त्र र जनपथ प्रहरीले अश्रु ग्याँस र रबरको गोली चलाएका थिए भने प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गरेका थिए। भिडन्तमा दुवै पक्षका केही घाइते भए भने केही पक्राउ परे। तत्कालीन नेकपा माओवादी र हालको नेकपाका महासचिव नेत्रविक्रम चन्दले २३ असार ०७३ मा जारी गरेको विज्ञप्तिमा भनेका थिए, ‘सयौं विगाह जमिनको उखु, धान, मकैबाली पूर्णरुपले नष्ट गरेको छ। कथित कम्युनिष्ट र माओवादी सहभागिताको यो सरकारले सुकुम्बासीमाथि गरेको यो दमनलाई तुरुन्त बन्द गरोस्।’
चन्द माओवादीले त्यो घटनाको विरोधमा साउन १० मा नेपाल बन्दै नै आयोजना गरेको थियो।
सर्लाहीको मूर्तिया क्षेत्रको २ हजार ७ सय ९ दशमलब १७ हेक्टर अर्थात ३ हजार ९ सय २८ विघा सरकारी वनमध्ये २ हजार ५ सय ३४ दशमलब ८७ प्रतिशत अर्थात ३ हजार ९ सय २८ विघा पहिलाको सार्वजनिक वन अहिले खेतमा बदलिएको छ, जसलाई सरकारले अतिक्रमण भनेको छ। सर्लाहीका कर्मैया, ढुंग्रेखोला, हरिवन, घुर्कौली, हरिपुर, जानकीनगर, मूर्तिया, शंकरपुर र राजघाट सहित ९ गाविसको जग्गा तथा वनलाई मूर्तिया वन क्षेत्र मानिन्छ। मूर्तिया क्षेत्रमा ४ हजार परिवारले घर बनाएका छन् भने थप त्यति नै संख्याले खेती गरेका छन्।
सुरुमा सागरनाथ वन विकास परियोजनाले स्थानीय बासिन्दालाई टाँगिया खेती गर्न उक्त क्षेत्रमा प्रोत्साहित गरेको थियो। पछि सार्वजनिक जग्गामा स्थानीय जनताले नै खेती गर्न थाले। २०५० सालमा बाग्मतीका बाढी पहिरो पीडितमध्ये ४०० परिवारलाई मूर्तिया क्षेत्रमा पुर्नस्थापित गरिएको थियो।
२०६२–२०६३ को जनआन्दोलन र मधेश आन्दोलनपछि त्यहाँको सार्वजनिक जग्गा उपयोग गरेर खेती तथा बसोबास गर्ने क्रम अरु बढेर गयो। ३०–३५ वर्षको अवधिमा मूर्तिया क्षेत्रको सार्वजनिक वन हरियाली खेत हुँदै घना बस्तीमा बदलियो। तर, स्थानीय किसानहरुकै कारण आवादी भइसकेको जग्गालाई फेरि २०३५ सालकै जस्तो वनमा बदल्ने बाटोमा सागरनाथ वन परियोजना लाग्यो।
मूर्तियाको जग्गा विवादमा सरकारतर्फ सागरनाथ वन विकास परियोजना छ भने अर्कातिर सर्लाही ढुंग्रेखोलाका स्थानीय। तिनको नेतृत्व चाहिँ १५ वर्ष यता कुमार पौडेलले गरेका थिए। पौडेलले भनेका थिए, ‘जनताले तार काट्छन् र फेरि खेती गर्छन, जनता आफैले मेहनत गरेर आवादी गरेको अनि सिँचाइको राम्रो व्यवस्था भएको उर्बर भूमिमा वृक्षारोपणको नाटक गर्नु सरकारी बजेट सक्ने खेल हो।’

पूर्वपश्चिम राजमार्गबाट २ किमि दक्षिणमा छ सर्लाहीको ढुंग्रेखाला। त्यहीँका बासिन्दा हुन् कुमार पौडेल। डेढ दशकअघिका सितेरियोका खेलाडी छोटो अवधिमै शक्तिशाली बनेर सकिए। कतिसम्म भने किसानहरुले उनलाई मसिहा नै मान्न थालेका थिए। पौडेलले मूर्तियाको सार्वजनिक जग्गामा खेती गर्नेहरुलाई बलियो छहारी दिएका कारण उनको सामाजिक छवि सकारात्मक थियो। मूर्तियामा पौडेलको राज नै चलेको थियो। उनको स्वीकृति विना कसैले केही गर्न नसक्ने स्थिति थियो। त्यसैले कुमारलाई राज्यले तारो बनाउँदै आएको थियो।
२०६५ सालयता सागरनाथ वन विकास परियोजनाको माध्यमबाट सरकारले मूर्तियाको खेतमा धेरै पटक वृक्षारोपण गर्ने प्रयास गरेको थियो। तर, कुमारकै कारण सरकारी प्रयास सफल भएन। सुकुम्बासीको नाम लिएर कुमार र उनका समर्थक राज्य विरुद्ध आन्दोलित भए भने अतिक्रमणकारीका नाममा राज्य कुमार र उनका समर्थक विरुद्ध खनियो। राज्य–कुमार द्वन्द्वको छिनोफानो स्थानीयले उपभोग गरेको मूर्तियाको जग्गा विवादको निरुपण विना टुंगिने सम्भावना थिएन। त्यसैले द्वन्द्व चलिरहेको थियो। मूर्तिया कुमारको राम्रो पकड भएकै कारण चन्द नेकपा भूमिगत हुँदा पनि उनी त्यही क्षेत्रमा सक्रिय थिए।
मूर्तियाको सार्वजनिक जग्गा जसले जोतेको छ, उसलाई दिलाउने कुमारको योजना थियो। यस निम्ति मूर्तियामा उनले साम, दाम, दण्ड भेदका सबै नीति अपनाएका थिए। त्यसैले कुमारका विरुद्ध खुलेआम उभिने आँट कसैको थिएन। जो उभियो, ऊ असुरक्षित हुन्थ्यो।
२१ असार ०७३ को घटनापछि सगरनाथ वन परियोजनाका तत्कालीन रेन्जर नितेन्द्रकुमार सिंह कुमारकै भयका कारण सशस्त्र प्रहरीको घेरभित्र बस्थे। उनले भनेका थिए, ‘म एक्लै बाहिर निस्किन्न, सशस्त्र प्रहरीको घेरामा सुत्छु।’
कुमारले शक्ति आर्जनका लागि १५ वर्षमा पाँच वटा राजनीतिक दल फेरेका थिए। मूर्तियाको एजेण्डालाई जुन दलले बलियो साथ दिन्छ, त्यही दलमा लाग्थे उनी। पछिल्लो समय चाहिँ उनको छनौट चन्द नेकपा बन्यो। प्रहरीबाट मारिनुुअघि उनी चन्द नेकपाको सर्लाही इन्चार्ज थिए। चन्द नेकपाले कुमारलाई आफ्नो भातृ संगठन अखिल नेपाल सुकुम्बासी संघको केन्द्रीय सल्लाहकार कमिटीको अध्यक्षको जिम्मेवारी पनि दिएको थियो। जुनसुकै दलमा रहे पनि कुमारका अधिकांश गतिविधि चाहिँ मूर्तियाकै सेरोफेरोमा केन्द्रित हुन्थे। त्यसैले उनलाई धेरैले वनको डनको संज्ञा दिन्थे।
आफ्नै बारेमा उनले भनेका थिए, ‘हो, मैले जसको जोत उसको पोतको आन्दोलन चलाइ रहेको छु। त्यसकारण म वनको होइन, जनताको डन हुँ।’
कुमारको दलबदल चक्र
एमाले युवा संघ गाउँ कमिटी उपाध्यक्ष २०५९
माओवादीको गाउँ जनसरकार प्रमुख २०६०
चुरेभावर एकता समाज सर्लाही अध्यक्ष २०६३
एमाओवादी जिल्ला सदस्य २०६८
बैद्य माओवादी जिल्ला सदस्य २०६९
चन्द माओवादीको जिल्ला सक्रेटरी २०७१
मूर्तिया क्षेत्रको वन मासेर वस्ती बसालेको अभियोगमा पौडेल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ०७२ मै ७५ करोड विगोको मुद्दा परेको थियो। उक्त मुद्दामा उनले तीन पटक तारेख झेलिसकेका थिए। उनीमाथि जिल्ला वन कार्यालय सर्लाहीले पनि पटक पटक वारेन्ट जारी गरेको थियो।
पौडेलले २० साउन ०७३ मा भनेका थिए, ‘वारेन्ट नै जारी गरेकोले थ्रेट हुने नै भयो, पार्टी नै अर्धभूमिगत भइसकेको छ भने मेरो के कुरारु जे भए पनि म आफ्नो लक्ष्यबाट विचलित हुन्न।’
घर जग्गा नभएकालाई मूर्तियामा जग्गा दिलाउने, घर बनाउन सहयोग गर्नेआदि काममा कुमार सक्रिय थिए। त्यसैले मूर्तियाका कतिपय गरिब मधेशीहरु पनि ‘कुमार मालिक जग्गा देते’ ९कुमार मालिकले जग्गा दिन्छन्० भन्दै हिंड्ने गरेका थिए। हुन पनि कुमारको एक इसारामा ५–७ हजार मानिस तुरुन्त सडकमा आउन तयार हुन्थे।
-नेपालखबरबाट








































