निभा शाह
तल तल तहेखाना बनायो
बेश्यालय चलायो
माथि माथि पार्टी बनायो
मुलुक चलायो
क्या गजबको देश
क्या गजब भो देश
मुलुकको मुखिया पनि आफैँ
बेश्यालयको दलाल पनि आफँै
दलाल र मुखियाको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश ।
तल तल तहेखाना बनायो
रामनामी चलायो
मथि माथि हसियाँ हथौडा बनायो
माक्र्सवाद चलायो
क्या गजबको देश
क्या गजब भो देश
रामको हनुमान पनि आफैँ
माक्र्सको लेनिन पनि आफैँ
लेनिन र हनुमानको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश
तल तल ताहेखाना बनायो
लेन्डुपवाद चलायो
माथि माथि भीमसेनको मूर्ति बनायो
राष्ट्रियता चलायो
क्या गजबको देश
क्या गजब भो देश
भीमसेन पनि आफैँ
लेन्डुप पनि आफैँ
भीमसेन र लेन्डुपको फ्युजन
क्या गजबको देश
क्या गजब भो देश ।
तल तल ताहेखाना बनायो
पँुजीवाद चलायो
माथि माथि हसियाँ हथौडा बनायो
लालसत्ता चलायो
क्या गजबको देश
क्या गजब भो देश
सर्वहाराको माक्र्स पनि आफँै
पुँजीवादको मार्सल पनि आफँै
माक्र्स र मार्सलको फ्युजन
क्या गजबको देश क्या गजब भो देश
गान्धारीको पट्टी खुल्ने
एक दिन होला देश ।।








































