काठमाण्डौं ।
आन्तरिक लडाँई र किचलोका कारण नेपाली काँग्रेसको बिद्यार्थी भातृ संगठन नेपाल बिद्यार्थी संघ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारीमा जुट्न सकेको छैन । स्ववियु निर्वाचन आउन अब ३४ दिन मात्र बाँकी छ ।
तर माउ पार्टीका कारण नेविसंघ आसन्न स्ववियु चुनावको तयारी जुट्न नसकेको हो । पार्टी सभापति शेरबहादुर देउवा लगायत पार्टी नेतृत्वले चासो नदिँदा नेविसंघ गुटगत झगडा र आन्तरिक लफडाले भद्रगोल अवस्थामा छ ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले फागुन १४ गतेका लागि स्ववियु निर्वाचन मिति घोषणा गरेपछि अनेरास्ववियु चुनावको तयारी र प्रचारमा लागेपनि नेविसंघ नेतृत्वसंग बैधानिकताको लडाइमा नै व्यस्त रहेको छ । कार्यकारी परिषद्ले अर्को साता निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने विद्यार्थी कल्याणकारी महाशाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक क्याम्पस र सम्वन्धन प्राप्त करिब एक हजार एक सय क्याम्पसमा एकैसाथ चुनाव गर्न लागिएको छ । सम्वन्धन प्राप्त गरेका सबै क्याम्पसले स्ववियु निर्वाचन नगर्ने भएपनि धेरैले तयारीमा अग्रसरता देखाएका छन् । नेविसंघमा उमेरहदको विवादले संघ नै विघटनमा परेको छ ।
कांग्रेस सभापति देउवाले ३२ वर्षे उमेर हद कायम नगरी असोजमा नयाँ कार्यसमिति बनाउने तयारी गरेर राजीव ढुंगानाको नेतृत्वमा बन्न लागेको कार्यसमितिलाई अर्को खेमाका नेताहरुले असहमति जनाएपछि नेविसंघ नै विघठनमा परेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केही दिनमै नेविसंघको कार्यसमिति गठन हुने बताएका छन् । उनले तदर्थ समिति नै गठन नहुँदा समस्या भएको स्विकारे । नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले संगठन नै नभएका कारण तयारी गर्न नपाएको बताए ।
नेविसंघ र अनेरास्ववियुबीच विवादले २०६५ देखि स्ववियु निर्वाचनमा विभिन्न अवरोध आइरहेको छ । नुवाकोटमा त्रिशूली क्याम्पसमा दुई वर्ष अघि चुनाव भएपनि बट्टार क्याम्पसमा भने रोकिएको थियो । उमेर हद, निर्वाचन प्रणाली र संगठनबीच विवादले निर्वाचन रोकिँदै आएको थियो ।
नेविसंघको विवादले यसपटकको चुनावमा तत्कालिन एमाले र माओवादी एक भएपछि एकिकृत भएको अनेरास्ववियुलाई भने फाईदा देखिएको छ । नेविसघको नयाँ संरचनाको अभावले चुनावी प्रतिस्पर्धामा अनेरास्ववियुलाई फाईदा पुग्ने देखिएको हो ।








































