काठमाडौं : फागुन ११, प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीको मुख नदेख्ने भन्दै चर्को भाषण गरिरहेको बेला उनकै विश्वासपात्र तथा सुचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले ७० करोडको कमिसन मागेको अडियो बाहिरिएपछि सरकारको चौतर्फि अलोचना भईरहेको छ । सेक्युरिटी प्रेस खरिदमा कमिसनको ‘डिल गरिरहेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजिनामा समेत दिईसकेका छन् । केही समयअघि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका महासचिव विष्णु पौडेलले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा कब्जा गरेको घटना सेलाउन नपाउँदै बास्कोटाले ७० करोडको डिल गरेको अडियो बाहिरिएपछि सरकारले छानबिन गर्ने गृहमन्त्री बादलले बताईसकेका भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले भने बास्कोटाको अडियो काण्डको छानबिन गर्न नहुने अडान लिएका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ठूलो कमिसन मागेका गोकुल बास्कोटाका हातमा १ खर्ब बढीका सञ्चारसँग सम्बिन्धित आयोजना भएको खुलेको छ । उनको ७० करोडको अडियो काण्ड बाहिरएपछि मन्त्रालयमातहतका अरू ठूला प्रोजेक्टहरुका बिषयमा खुल्दै गएको छ । नयाँ योजनामा कमिसन खोज्ने मात्र होइन, कतिपय भइसकेका ठेक्कासमेत रद्द गरेर पनि उनले आफ्नो स्वार्थअनुसार अघि बढाएको समेत खुलिसकेको छ । तर यी सबै १ खर्ब बराबरका आयोजनाका मास्टरप्लानर भने, पूर्वमन्त्री बास्कोटा नभएर प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्कर अली रहेको स्रोतको दाबी छ ।
तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाका हातमा सेक्युरिटी प्रेस खरिद गर्ने, देशभर टेलिकमको फोरजी सेवा पुर्याउने, स्याटलाइट राख्ने, सामुदायिक विद्यालयहरूमा कम्प्युटर ल्याब स्थापना गर्ने, अप्टिकल फाइबर बिच्छ्याउने, आधिकारिक बिक्रेताभन्दा बाहिरबाट भित्र्याइएका मोबाइल नचल्ने बनाउन मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम खरिदलगायतका योजनाका मास्टर प्लान उनै प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्कर अलीले बनाएका हुन् ।
बास्कोटाले आईटी सम्बन्धि खासै जानकारी नभएकाले प्रधानमन्त्री बास्कोटाका आईटी सल्लाहकार अलीले सबै योजनाका मास्टर प्लान प्रधानमन्त्रीसँग परामर्श गरेर बनाउने गरेको स्रोतको दाबी छ । सञ्चार सम्बन्धि कार्यक्रम निर्माण, ठेक्काको स्पेसिफिकेसन, मूल्यांकनलगायत हरेक चरणमा सार्वजनिक खरिद प्रक्रियालाई उल्लंघन गरेर बाँस्कोटाले विभिन्न योजना हात पारेका थिए । चासोसाथ अघि बढाएको एक हजार सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गर्ने ठेक्कामा आफूले रुचाएको कम्पनीले मात्र ठेक्का पाउन सक्ने गरी ‘स्पेसिफिकेसन’ तयार गर्न लगाएका थिए । त्यति मात्र होइन, एक अर्ब ५० करोडको आयोजनाको लागत तीन अर्ब ५० करोड पुर्याएको खुलिसकेको छ ।
यस्ता थिए बास्कोटाका हातमा रहेका १ खर्ब बढीका ७ योजनाहरु
प्राविधिक कमिटीको सुझाबविपरीत २८ अर्बको स्याटलाइट खरिद प्रक्रिया, करोडौँ कमिसन आउने गरी २३ अर्बमा सेक्युरिटी प्रेस किन्ने योजना, फोर–जी सेवा विस्तार गर्न १९ अर्बको ठेक्का, देशभर अप्टिकल फाइबर बिच्छ्याउने योजना, १० अर्बको भइसकेको ठेक्कामा हस्तक्षेप, मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम, दररेट घटाउन लगाएर ५ अर्बको ठेक्का, सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना, डेढ अर्बको कार्यक्रमको लागत साढे तीन अर्ब र हरेक वडा, स्वास्थ्य संस्था र सामुदायिक स्कुलमा इन्टरनेट सात अर्बको चालू कार्यक्रमलगायत रहेका थिए ।
को हुन् मास्टर प्लानर अस्गर अली ?
सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि ओलीले अस्गर अलीलाई आफ्नो सुचना प्रविधि सल्लाहकारमा नियुक्त गरेका थिए । नेपालमा फोरजीको स्थापना गर्ने विषयमा अरुलाई खासै जानकारी नभएपनि असकर अलीले नेपालमा फोरजी इण्टरनेटको सम्भावना र त्यसको लगानी बारे योजना बनाएका थिए । त्यस्तै उनले कसैलाई जानकारी नभएको देशभरी अपिटकल फाईबर विछाउने १० अर्बको योजनाको मास्टर प्लान समेत बनाएका थिए ।
त्यस्तै अलीले नेपालमा अरबौँ लगानीमा साईबर सुरक्षा सम्बन्धि छुट्टै युनिट खडा गर्नु पर्ने भन्दै लबिङ चलाईरहेका बेला सञ्चारमन्त्री बास्कोटाको सेक्युरिटी प्रेसको कमिनसकाण्ड बाहिरिएपछि अलीको लबिङ अन्योलमा परेको स्रोतको दाबी छ । त्यस्तै , मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको मास्टर प्लान पनि अलीले नै बनाएका हुन् । जसमा पनि करोडौ भ्रष्टाचार भएको बताईन्छ । प्रधानमन्त्रीका सुचना तथा प्रेस सल्लाहकार असकर अली मोबाइृल बैंकिङ, रिचार्ज सेवा उपलब्ध गराउँदै आएको ईसेवाका मालिक समेत हुन् ।
तीन वटा कम्पनी मार्फत सरकारी काम गर्छन् अली
अस्गर अलीले सरकारी योजनाका मास्टर प्लान बनाउने काम मात्र होईन, आफु प्रधानमन्त्रीको सल्लाहकार भएको मौकाको फाईदा उठाएर उनले सरकारी विभिन्न आईटी सम्बन्धि योजनामा एकाधिकार जमाएका छन् । उनले प्रधानमन्त्री लगायत अरु मन्त्रीहरुलाई मनाएर आफ्नै स्वामित्वमा रहेको इ सेवा मार्फत् सबै सरकारी कार्यालयको भुत्तानी गर्ने वातावरण बनाईसकेका छन् । त्यस्तै उनले अर्को एफ वान सप्ट कम्पनी मार्फत नेपाल सरकारको मातहतमा रहेको नेपाल दुसञ्चार कम्पनी र नेपाल टेलिकमका योजनामा एकाधिकार जमाएका छन् ।
त्यसैगरी उनले अकबर हुसैनको म्याक्स इण्टरनेशनल मार्फत् पनि काम गर्ने गरेका छन् । यसरी एक खर्बभन्दा बढीका योजनाका विभिन्न मास्ट प्लान गरेका उनले विभिन्न तीन वटा कम्पनी मार्फत् काम गर्ने गरेपछि प्रधानमन्त्रीका अन्य सल्लाहकारहरु पनि उनीसँग रुष्ट बने पनि कसैले मुख खोल्न सकेका छैनन् । सरकार एकपछि अर्कोगरी चौतर्फि रुपमा भ्रष्टाचारका काण्डमा मुछिन थालेपछि यो कुराले सरकारलाई असर पर्ने डरले प्रधानमन्त्रीका नजिकका नेताहरु र सल्लाहकारहरुले खुलेर बाहिर ल्याउन चाहेका थिएनन् ।