काठमाडौं : फागुन १५, पार्टीभित्र प्रचण्ड र अर्का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीबीचको विवाद उत्कर्षमा पुगेको बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीमा विवाद हुनु र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताएका छन्। बिहीबार राजधानीमा भएको सत्तारुढ नेकपाका बागमती प्रदेशका अगुवा कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले साम्यवाद नआएसम्म पार्टीमा भूमरी परिरहने, पार्टी भत्किने र फुट्ने प्रक्रिया चलिरहने बताए। उनले भने, विवादरहित र शान्त भएपछि साम्यवाद आउँछ, त्यसपछि पार्टी नै चाहिन्न । विवाद नभएको दिन पार्टी नै नरहने समेत दाबी गरे । उनले भने, धेरैलाई लाग्न सक्छ, पार्टी शान्त भइदिए हुन्थ्यो। नेताहरू खुरुक्क मिलेर हिँडे हुन्थ्यो। हामीलाई पनि त्यस्तै लाग्छ, हामी एकतावद्ध हुन कोशिस गर्ने हो तर जुन दिन विवादरहित र शान्त पार्टी बन्छ त्यो दिनबाट पार्टी चाहिन्न।’
बुधबारमात्रै प्रचण्डको प्रस्तावमा सचिवालयले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णय गरेपछि प्रधानमन्त्री ओली झनै रूष्ट बनेका छन्। उनले अर्का नेता माधवकुमार नेपालसँग सचिवालयको उक्त निर्णय नमान्ने बताइसकेका छन्। राष्ट्रिय सभामा वामदेव जान्छन् कि ओलीको चाहनाअनुसार अहिलेका अर्थमन्त्री युवराज खतिवडा नै रहन्छन् भन्ने टुंगो नभइसकेका बेला आज सत्तारुढ नेकपाका दुबै अध्यक्ष भने, एउटै मञ्चमा देखिएका हुन्।
उनले पार्टी विभाजन हुन नदिने पनि बताए। ‘पार्टी जमेको पोखरी जस्तो होइन। यो गडगडार जान्छ। पार्टीभित्र के हो भनेर धेरैलाई परेको छ। यो धेरै ठूलो मूल्य चुकाएर पसिना चुहाएर आएको नेतृत्व छ। त्यसैले विभाद भए पनि विभाजन र विघटन हुन दिन्नौ,’ प्रचण्डले भने। यसअघि सोही कार्यक्रममा बरिष्ठ नेता माधव नेपालले पार्टीलाई विघटन र विभाजनको दिशामा जान नदिने बताएका थिए। पार्टी एकतामा भइरहेको ढिलाइलाई धेरै पर धकेल्न नहुने समेत उनले बताए। राष्ट्रिय सभा सदस्य छनौटलाई लिएर बुधबारदेखि नेकपामा चरम विवाद देखिएको छ।