काठमाडौं ।
चीनबाट फैलिएको कोरोना अर्थाल कोभिड-१९ को संक्रमण फैलिन नदिन भारतले उच्च सतर्कता अपनाएको छ । भारतले शुक्रबारबाट एक महिनाका लागि सिमा बन्द गर्ने भएको छ । मध्यरातबाट लागु हुने गरि अप्रिल १५ सम्मका लागि भारतले सबै सिमा बन्द गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतमा बुधबारसम्म ६० जनालाई भाइरसको संक्रमण देखिएको थियो । संक्रमितहरुमा भारत प्रवेश गरेका विदेशी र विदेशबाट भारत पुगेका भारतीय नागरिक नै छन् ।
भारतले विदेशीलाई भीसा समेत रद्द गरेको छ । कुनैपनि विदेशी पर्यटक भारत प्रवेश गर्न पाउनेछैनन् । आफ्ना नागरिकलाई समेत विदेश यात्रा नगर्न भन्दै स्थल सीमा जोडिएका देशहरुबाट समेत यात्रा प्रतिबन्ध लगाउँदै निश्चित चेकप्वाइन्टमा निगरानी र चेकजाँचलाई अझ चुस्त दुरुस्त बनाउने निर्णय लिएको छ । मानिसको यात्रामा कडाई गरिने भएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई महामारी घोषणा गरेपछि भारतले बुधबार साँझ नै कडा निर्णय लिएको हो ।
भारतले अहिले भइरहेको भीसा, कुटनीतिक, अन्तर्राष्ट्रिय संघसंस्था, रोजगार, प्रोजेक्ट भीसालाई भने रद्द नगर्ने भएको छ उसले गैरआवाशीय भारतीय कार्डधारीलाई निःशुल्क यात्रा भीसा दिदै आएकोमा एक महिनाका लागि रद्द गरेको छ ।