धनुषा
प्रदेश २ मा आज नाम र राजधानीङ्का लागि मतदान हुँदैछ । प्रदेशसभाको बैठकले प्रदेशको नाम र राजधानी सम्बन्धी विधेयकमाथि छलफल गर्ने र त्यसपछि मतदानको प्रक्रिया अगाडि बढाउने छ।
सभामुख सरोजकुमार यादवको संयोजकत्वमा रहेको विशेष समितिले प्रदेशको स्थायी राजधानी जनकपुरधाम तोक्ने सहमति गरे पनि नामको विषयमा सहमति नजुटेपछि मतदान हुन लागेको हो ।
राजधानीको विषयमा सहमति भइसकेकाले प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट टुंगो लाग्ने सम्भावना छ। नाम के राख्ने विषय भने मतदान प्रक्रियाबाट टुंगो लगाउन दुई तिहाई बहुमत चाहिने र सहमति बिना त्यति मत प्राप्त नहुने भएकाले टुंगिने सम्भावना कम छ।
स्थायी राजधानीका लागि तीनवटा प्रस्ताव दर्ता भएका छन् । प्रदेशको नामका लागि चारवटा प्रस्ताव दर्ता भएका छन्। प्रमुख प्रतिपक्ष नेकपाले जानकी र प्रतिपक्ष कांग्रेसले मिथिला भोजपुरा नाम राख्न प्रस्ताव गरेका छन् भने सतारुढ समाजवादी पार्टी र राजपाले मधेस प्रदेश नाम राख्नुपर्ने प्रस्ताव गरेको छन्। पारित हुने प्रस्तावको पक्षमा १ सय ७ सदस्यमध्ये ७२ मत चाहिन्छ।