काठमाडौं ।
आन्तरिक कलहका कारण फुटको संघारमा पुगेको नेकपाभित्र कुरो मिल्ने संकेत देखा परेको छ । आज दुई अध्यक्षबीच भेटघाट भएपछि प्रधानमन्त्रीसमेत रहेका केपी ओलीले आत्मालोचना गरेको स्रोतले जनाएको छ ।
आज बालुवाटारमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्माले संयोजन गरेर नेताहरुबीच तीन घन्टा छलफल भएको थियो ।
दुवै नेताबीचको छलफल सकारात्मक मोडमा पुगेको छ । तर, निष्कर्ष निस्किएको छैन । अध्यक्ष प्रचण्डले २ जेठमा भएको सहमति कार्यान्वयन गर्न या नयाँ सहमति बनाएर जान भनेका थिए । उनले दुई पदमध्ये एक पद त्याग्न ओलीलाई भनेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
ओलीले भने आफू एकताको महाधिवेशन गराएर नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएका थिए । प्रधानमन्त्री पद पनि पाँच वर्ष चलाउन दिन भनेको बुझिएको छ । दुवै नेताले आ आफ्नो प्रस्ताव राखेपछि थप छलफल गरी निर्णयमा पुग्ने सहमति भएको छ ।








































