भाद्र १४ रौतहट, गरुडा नगरपालिका–८ जिंगडियाका १७ वर्र्षीय निरञ्जन रामको हत्या आरोपमा पक्राउ परेका विजय महराको भिडियो सार्वजनिक भएको छ । भिडियोमा उनले ‘प्रहरीले हत्या स्वीकार नगरे ज्यान मार्ने धम्की दिएको’ बताएका छन । प्रहरीको यातनाबाट घाइते उनको उपचारका क्रममा वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा गत बिहीबार बिहान मृत्यु भएको पीडित परिवारको भनाइ छ ।
निरञ्जनको साउन ३१ गते राती घाँटी रेटी हत्या भएको थियो । त्यसको भोलिपल्ट घरमा सुतिरहेका विजयलाई इलाका प्रहरी कार्यालय गरुडाको टोलीले पक्राउ गरेको थियो । पक्राउ गर्ने बेला पनि उनीमाथि निर्मम कुटपिट भएको परिवारका सदस्यले बताएका छन । प्रहरीले समेत विजयलाई पक्राउ गर्ने क्रममा गाडीमा बस्न नमानेपछि सामान्य बल प्रयोग गर्नुपरेको स्विकारेको छ ।
घटनापछि हत्यामा संलग्न भन्दै प्रहरीले विजयलगायत गाउँकै ७ जनालाई पक्राउ गरेको थियो । हिरासतमै सिकिस्त भएका विजयलाई उपचारका लागि भदौ ४ गते साँझ प्रहरीले वीरगन्ज लगेको थियो । आफूलाई प्रहरीले चरम यातना दिएको अस्पतालको शैयाबाट विजयले भिडियोमा बताएका छन । ‘मलाई निरञ्जनको हत्या स्वीकार गर्न भनेर सादा पोसाकको प्रहरीले दुई दिनसम्म बाँस, फलामे पाइप र बुटले हान्यो । हत्या स्वीकार नगरे प्रहरी कार्यालयबाट तेरो लास बाहिर निस्कन्छ भनेर धम्क्याए,’ उनले भिडियोमा भनेका छन । मृत्यु हुनुअघि विजयले बोलेको झन्डै २ मिनेटको भिडियो सार्वजनिक भएको हो । जहाँ उनले निरञ्जनको हत्यामा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन ।
घटनाको राष्ट्रिय मानवअधिकार आयोगले पनि छानबिन थालेको छ । पीडित परिवारले इलाका प्रहरी गरुडा डीएसपी ज्ञानकुमार महतोलगायतका प्रहरीलाई कारबाही गर्न माग गरेका छन । प्रहरीले छोरालाई जबर्जस्ती हत्या स्विकार्न लगाउने क्रममा कुटपिट गरेको पीडितका बुबा पनिलाल महराको आरोप छ । हत्या गरिएका निरञ्जनका बुबा नन्दलाल रामले समेत विजय निर्र्दाेष भन्दै आएका थिए । हत्या आरोपमा प्रहरीले विजयलगायत शेख अजाद, अजयकुमार रञ्जन, विवेकराय यादव, अर्जुन राम, सिकिन्द्र पासवान र राजाराम साह गरी ७ जनालाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाएको छ । निरञ्जनका बुबाले प्रहरीमा दिएको किटानी जाहेरीमा पनि विजयको नाम छैन । विजयको शव पोस्टमार्टमका लागि काठमाडौं लगिएको छ ।
डीएसपी प्रदेश तानिए
विजयको उपचारका क्रममा मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई अनुसन्धानका लागि शनिबार प्रदेश २ प्रहरी कार्यालय जनकपुर तानिएको छ ।
महतोलाई प्रदेश झिकाई घटनाको अनुसन्धान भइरहेको प्रदेश २ प्रहरीका एसएसपी यज्ञविनोद पोखरेलले बताए । डीएसपी महतोले भने आफूले विजयलाई कुटपिट नगरेको दाबी गरेका छन । महतोको ठाउँमा जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठलाई पठाइएको छ । घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन गरेको छ ।
हिरासतमा यातना दिएकै कारण मृत्यु भएको भन्दै प्रहरीलाई कारबाहीको माग गर्दै गरुडामा शनिबार पनि प्रदर्शन भएको छ । पीडित परिवार र जिल्लाभरका दलित भेला भएर प्रहरीको विरोध गरिरहेका छन ।

दलीत युवक हत्या प्रकरणमा डीएसपी अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालय जनकपुर तानिए
सेयर
shere this