काठमाडौं, १२ जेठ ।
नवगठित राष्ट्रिय जनता पार्टी (राजपा)ले आसन्न स्थानीय निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । केही दिनदेखि अनिर्णयमा रहेको उक्त पार्टीको अध्यक्षमण्डलको शुक्रबार (आज) विहान बसेको बैठकले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनमा नजाने निर्णय गरेको हो ।

फाइल फोटो
यस विषयमा पार्टीले केहिबेरमा पत्रकार सम्मेलन गर्दैछ । यसैबारेमा राजपाले संघीय गठबन्धनसँग शुक्रबार (आजै) बैठक गर्ने जनाएको छ ।
यसअघि बिहीबार (हिजो) राष्ट्रिय जनता पार्टीका अध्यक्ष महन्थ ठाकुर, लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छेदार र संघीय समाजवादी फोरमका उपेन्द्र यादवबीच निर्वाचनमा सहभागिताका बारेमा छलफल भएको थियो ।
बैठकमा दुई फोरमका अध्यक्षले राजपालाई स्थानीय निर्वाचनमा सहभागि बनेर पछिल्ला उपलब्धिलाई संस्थागत गर्न आग्रह गरेका थिए । ठाकुरले भने निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिह्न दिए आफूहरु चुनावमा जान तयार रहेको बताएका थिए ।
ठाकुरले आफूहरु चुनाव विरोधी नभएको तर आयोगमा पार्टी दर्तापनि नभएको र चुनाव चिह्नपनि नपाएकाले चुनावमा जान गाह्रो परेको भन्दै दल दर्ता र चिह्न प्रदानका लागि भूमिका खेल्न आग्रह गरेका छन् । यादव र गच्छदारले राजपालाई चुनाव चिह्न दिलाउन सक्दो पहल गर्ने आश्वासन दिएका छन् ।






































