संयुक्त राष्ट्रसंघ बैठकमा चीन र पश्चिमा मुलुकले आ आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।
सिन्झियाङ, हङकङ र तिब्बतमा मानव अधिकारको स्थितिलाई लिएर ती देशले शक्ति देखाएका हुन् । बैठकमा ७० मुलुकले चीनको समर्थनमा वक्तव्य दिए तर जर्मनी, अमेरिका, बेलायतसहितका ३९ मुलुकले चीनको चर्को आलोचना गरे।
राष्ट्रसंघका लागि जर्मनीका राजदूत क्रिस्टोफ होयस्गेनले राष्ट्रसंघीय पर्यवेक्षकलाई सिन्झियाङमा तत्काल पहुँच दिन आह्वान गरे।
पश्चिमा मुलुकहरुले सिन्झियाङमा कम्तीमा १० लाख मानिसलाई चीनले बन्दी बनाएको आरोप लगाउँदै आएका छन्। चीनले भने सो आरोप निराधार भएको बताउँदै आएको छ। त्यहाँ निर्मित शिविरहरु सीपमूलक तालिमकेन्द्र भएको चीनको भनाइ छ।
पश्चिमा मुलुकहरुको यस्तो वक्तव्यपछि क्युबाको नेतृत्वमा ४५ मुलुकले चीनको पक्षमा वक्तव्य दिए। उनीहरुले चीनको आन्तरिक मामिलामा पश्चिमाहरुले गरेको हस्तक्षेपको विरोध गरेका छन्।
लगत्तै पाकिस्तानको नेतृत्वमा हङकङको मामिलामा चीनको समर्थन गर्दै ५५ मुलुकले वक्तव्य जारी गरेका छन् भने कुवेतको नेतृत्वमा खाडी मुलुकहरुले मानव अधिकारलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरेका छन्।








































