काठमाडौँ।
५ जना सर्जकहरुद्वारा लिखित साहित्यिक कृति पञ्चरत्न बाछिटा सङ्ग्रह विमोचन भएको छ । शुक्रबार प्रज्ञा प्रतिष्ठान भवनमा अलङ्कार प्रतिष्ठान नेपालद्वारा आयोजीत कार्यक्रममा प्रमुख अतिथि शिक्षाविद डा. सदानन्द कंडेलले कृति विमोचन गर्नुभएको हो ।
मातृभाषा संरक्षण समुह अमेरिकाले प्रकाशन गरेको बाछिटासङग्रह ५ जना सर्जकहरु नुवाकोटका भरत सिग्देेल, खगेन्द्र बस्याल, केशब बैरागी माइलो, नारद आचार्य सुदामा, मधु घिमिरेले लेख्नुभएको हो ।
सर्जकहरु केशब बैरागी माइलो,नारद आचार्य सुदामा ,मधु घिमिरे ३ जना भुटानमा जन्मेर शासकहरुको कारण आफ्नो जन्मभूमि छाडेर शरणार्थीको रुपमा नेपाल आएर कर्मथलो अमेरिकामा रहेकाले भौतिक उपस्थिति नभएपनि नेपाल आमा र नेपाली माटोलाई सम्झेर बाछिटा सङ्ग्रह निकालिएको भएको पञ्चरत्न सङ्ग्रहका सर्जक भरत सिग्देलले बताउनुभएको छ ।
बाछिटा सङग्रह साहित्यको नवीनतम र लघुतम काव्यिक उपाधि हो । तीन पाचँ तीन अक्षरीय तीन पङ्क्तिपुञ्जमा प्रकुतिको बिम्ब वा झलकसहित प्रतिकात्मक प्रस्तुतिका माध्यमबाट जीवन र जगतका भोगाई र अनुभुतिलाई बाछिटामा प्रस्तुत गरिने सर्जकहरुले बताए ।
बाछिटाको शब्दगत बनोट अर्थ र भावअनुसार काव्यिक उपाधिको रुपमा रचना सोझो अर्थमा नभएर बाङ्गो अर्थमा हुने गर्दछ ।
कार्यक्रममा अम्बिका धिताल र निर्झरिणी बनर्जी जोशीले पाँच स्रष्टाका बाछिटा सङ्ग्रहाभित्रका पाँच पाँच बाछिटा वाचन गरेका थिए ।
अलङ्कार प्रतिष्ठान, नेपालकी अध्यक्ष भारती न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सर्जक भरत सिग्देलले बाछिटा र स्रष्टाको परिचय दिनुका साथै बाछिटाका प्रवर्तक अमर त्यागी र अमेरिका निवासी स्रष्टात्रय केशब बैरागी माइलो, नारद आचार्य सुदामा तथा मधु घिमिरेबाट प्राप्त शुभकामना मन्तव्यहरू वाचन गर्नुभएको थियो । यस्तै अर्का सर्जक खगेन्द्र बस्यालले बाछिटा प्रवर्तनको पृष्ठभूमि र विकासको अवस्थाबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा रातोपाटी डटकमका सम्पादक ओम शर्मा, राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालका महासचिव विष्णु भट्टराई विभु, काठमाडौ विश्वविद्यालयका प्राध्यापक डा. काशिराज पाण्डे, राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालका सल्लाहकार चेतनाथ धमला, डा. नारायण गैरे, त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक शेषनाथ पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अलङ्कार प्रतिष्ठान, नेपालका सदस्य प्रसिद्ध पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालका कोषाध्यक्ष अम्बिका धिताल र उपप्राध्यापक शेषनाथ पौडेललाई श्रष्टाहरूको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो ।
अलङ्कार प्रतिष्ठान, नेपाल सह सचीव साबित्रा पाण्डेले सहजीकरण गर्नुभएको कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष लक्ष्मी थापाको स्वागत मन्तव्य रहेको थियो ।
कार्यक्रममा सहभागीहरु भवानी पाण्डे, केशव नेपाल, सबिता के सी, श्याम माकाजुले आ आफ्ना बाछिटा वाचन गर्नुभएको थियो ।
कार्यक्रममा ऐक्यबद्धता प्रकाशनका नीलकण्ठ तिवारी, त्रिशुली प्रवाह साप्ताहिकका विष्णु तारुके, म्युजिक म्युजियम, नेपालका रामप्रसाद कडेल, स्वास्थ्यकर्मी टीका कडेल, समाजिक अभियन्ता शर्मिला तिमल्सिना नेपाल, साहित्यकार उद्धवहरि अधिकारी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बाछिटाको पहिलो त्रैमासिक विशेषाङ्क नवमाधुरी विशेषाङ्क पनि विमोचन गरिएको छ ।