नारायण शर्मा
२२ अप्रैल :
विश्वका महान् मार्क्सवादी कामरेड लेनिनको जन्मदिन !
र, नेपालको महान् र गौरवशाली नेकपाको जन्मदिन !!
क्रान्तिकारीहरुको लागि
एउटा कटिबद्धताको दिन !
एउटा समतावादीको निम्ति
सच्चा सम्झना, श्रद्धा र सलामी
अर्पण गर्ने दिन !
एउटा क्रान्तिकारीको लागि
प्रतिबद्धता र कटिबद्धता करार गर्ने दिन !
त्यसैले,
यो जन्मदिनबाट अब –
दामरेड बनेकालाई कामरेड बनाऔं !
खाओवादी बनेकालाई
माओवादी बनाऔं !!
कमाउनिष्ट बनेकालाई
कम्युनिस्ट बनाऔं !
नामपन्थी बनेकालाई कामपन्थी बनाऔं !!
यो जन्मदिनदेखि अब –
भ्रान्तिकारी जतिलाई क्रान्तिकारीमा बदल्ने,
भ्रष्टाचारी जतिलाई
सदाचारीमा बदल्ने,
डनवादी बनेकाहरुलाई
जनवादीमा बदल्ने
र स्वर्गवादी बनेका जतिलाई
वर्गवादीमा बदल्ने
एउटा महान् अभियानको यात्रा शुरु गरौं !
एउटा महान् बलिदानको सत्र शुरु गरौं !!
यो जन्मदिनमा अब –
गुटवादी र फुटवादीहरुलाई,
झुटवादी र लुटवादीहरुलाई,
कूटवादी र सुटवादीहरुलाई अनि
टुटवादी र ढुटवादीहरुलाई पनि
जुटवादी र रुटवादीमा बदल्ने
एउटा प्रण-प्रतिज्ञा गरौं,
एउटा बाचा-बन्धन नै गरौं,
एउटा आँट-अठोट गरौं
र एउटा साहस-संकल्प गरौं,
यो जन्मदिनमा
र यो २२ अप्रैलमा
एउटा साहस-संकल्प नै गरौं !
लाग्छ, यही नै महान् लेनिनप्रतीको
सच्चा सम्झना, श्रद्धा र सलामी हुनेछ ।
लाग्छ, यसरी नै
नेकपा र यसका संस्थापकहरुसम्म
सच्चा सम्झना, श्रद्धा र सलामी पुग्नेछ ।
लाग्छ, यही नै क्रान्तिप्रतिको सच्चा प्रतिबद्धता हो र हुनेछ ।
लाग्छ यही नै विचार र वर्गप्रतिको
सच्चा कटिबद्धता हो र हुनेछ !
सच्चा कटिबद्धता हो र हुनेछ !!
यो लेनिन जयन्तिका सन्दर्भमा !
हार्दिक श्रद्धाञ्जली हाम्रा कमरेड लेनिन !
र यो नेकपा स्थापनाका सन्दर्भमा
हार्दिक श्रद्धाञ्जली हाम्रा संस्थापकहरु !!
यो महान् दिवसका सन्दर्भमा !
यो २२ अप्रैलका सन्दर्भमा !!