नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान एक जनाको निधन भएको छ । घर माथीबाट खसेको पहिरो पन्छाउने क्रममा ४३ वर्षका विष्णुप्रसाद लामिछानेको पहिरोमा पुरिएर घटनास्थलमा नै मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँको अनुसार बिहान २ : ३० बजेको समयमा घरको कर्सामा माथीबाट आएको पहिरो पन्छाउने क्रममा थप खसेको पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणको लागी त्रिशूली अस्पतालमा ल्याउन लागिएको छ । पहिरोले घर समेत जोखिममा परेको छ ।
रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाडामा पहिरोले घर पुरिँदा एक जना घाइते भएका छन् भने चार जना बेपत्ता भएका छन् । स्थानीय ३६ वर्षीय श्यामबहादुर गलान तामाङको घर पुरिँदा तामाङ घाइते भएका छन् ।
उनी घरबाहिर सुतेको र घाइते अवस्थामा स्थानीयले उद्धार गरि उपचारका लागि नुवाकोट पठाउने तयारी गरिरहेको प्रहरीले जनाएको छ । उनको श्रीमती, दुई छोरी र एक छोरा घरभित्र सुतेको हुँदा अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले बताए ।
कृषि सडकको डिल भत्किएर घर पुरिएको जानकारी आएको उनले बताए । घटनाबारे बिहान साढे ५ बजे जानकारी पाए लगत्तै नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोलि अहिले घटनास्थलतर्फ प्रस्थान गरेको उनले बताए । घटनास्थलतर्फ जाने बाटो सबै बिग्रिएकाले कालिकास्थानबाट डोजर लिई बाटो खुलाउँदै घटनास्थलतर्फ गइरहेको उनको भनाई छ ।








































