युवा कवि मोतीराम भट्टको १५६ औं जयन्ती पेन्सीलभेनिया राज्यको राजधानी हेरिस्वर्ग शहरमा सम्पन्न भएको छ। त्रिबेणी साहित्यि मञ्चले आयोजना गरेको कार्यक्रममा युवा गजलकार दुखि अतुलका दुई गजल कृति मन्दमुस्कान र सौरव को लोकार्पण समेत भएको थियो ।
मञ्चका अध्यक्ष नविन भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा ‘ग भुटनिज कम्युनिटी इन हेरिस्वर्ग’का अध्यक्ष बिनय लुइँटेलको प्रमुख अतिथ्यता तथा साहित्यकार हरि फुयालको विशेष आतिथ्यता रहेको थियो ।

गजल कृति मन्दमुस्कान माथि गजलकार तथा गीतकार नारद आचार्य सुदामाले समीक्षा गर्नुभएको थियो भने सौरव गजल कृतिको कवि गण्डकीपुत्रले समीक्षा गर्नुभएको थियो ।
केशब बैरागी माइलाले कार्यक्रमको सहजीकरण गरेको कार्यक्रममा गीतकार तथा गजलकार शेखर कोइराला चन्द्रले मोतीराम भट्टको जीवनीबारे जानकारी सुनाउनुभएको थियो ।
कार्यक्रममा नेत्र आचार्य, परमा अधिकारी कान्छा, देवि दागने, सुदिप भद्र खनाल आभाष रिखाम, दुखि अतुल लगायतका सर्जकहरुले गजल तथा कविता सुनाउनुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिनय लुइँटेलले साहित्य जात र धर्म नहुने भएकाले साहित्य सबैको साझा भएको बताउनु भयो । कवि हरि फुयालले साहित्य र संस्कृति बुझ्न मानव जीवनमा नितान्त आवश्यक रहेको बताउनुभयो ।
मोतीराम भट्टको जन्म वि.सं. १९२३ भदौ २५ गते शनिवार माता रिपुमर्दनी देवी र बाबा पं. दयाराम भट्टका कोखबाट काठमाडौँको भैँसेपाटी टोलमा भएको थियो । यस्तै १९५३ भाद्र कृष्ण कुशे औँशीकै दिन देहावसान भएको थियो।
२०१७ सालमा स्थापित त्रिवेणी मञ्च पुनर्वासित भूटानी तथा नेपाली साहित्यकारहरूको साझा संस्था हो।
केशब बैरागी ‘माइलो’ अमेरिकाबाट








































