विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत, छठ पर्व लगायत सम्पूर्ण चाडपर्वको अवसरमा शक्ति कृषि बचत तथा ऋण सहकारी संस्थाले शुभकामना आदानप्रदान तथा वातवारण सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार भएको कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका र महिला वातावरण समूहले सहयोग गरेको थियो ।
शक्ति कृषि बचत तथा ऋण सहकारीका अध्यक्ष मधुसुदन ढकालको सभापतित्व तथा कागेश्वरी मनाहरा नगरपालिकाका उपप्रमुख विन्दु पुडासैनीको प्रमुख आतिथिमा सम्पन्न कार्यक्रममा अतिथिहरूमा वडा नं. ३ का अध्यक्ष राममणि पुडासैनी, वडा नं. ४ भाइकाजी अधिकारी, महिला वातावरण समूहकी सचिव मुना न्यौपाने, प्रहरी कार्यालय थलीका प्रहरी सहायक निरिक्षक शालिकराम पराजुली, कागेश्वरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी कोइराला, त्रिवेणी साकोसका अध्यक्ष मनोज भट्टराई लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
उपमेयर विन्दु पुडासैनीले सडक सरसफाई गरी कार्यक्रमको उद्घाटन गर्दै विभिन्न संघसंस्थाले आयोजना गरेका यस्ता किसिमका रचनात्मक कार्यक्रमलाई निरन्तरता दिन आफूले सक्दो सहयोग र सहभागिता जनाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सरसफाई कार्यक्रममा महिला वातावरण समूहका स्थानीय संघसंस्थालाई नेतृत्वदायी भूमिका र सहयोग समेत प्रदान गर्दै आइरहेकोमा स्थानीय वडाअध्यक्ष र वडावासीले समेत खुशी व्यक्त गरेका छन् ।