चितवनको रत्ननगर नगरपालिकाका सुकुमबासीहरूलाई लालपुर्जा वितरणको लागि राष्ट्रिय भूमि आयोग र नगरपालिकाबीच बुधबार सम्झौता भएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा आयोगको तर्फबाट अध्यक्ष केशव निरौला, सदस्य सचिव अमिरप्रसाद न्यौपाने र रत्ननगर नगरपालिकाको तर्फबाट मेयर नारायण वनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।
यसअघिको देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या समाधान आयोगले सुकुमबासीलाई लालपुर्जा वितरणको लागि ७७ वटा जिल्लामा काम सुरु गरिसकेको थियो । विवरण संकलन गरेर जग्गा नाप्ने काम चलिरहदा बर्तमान सरकारले ज्ञावली नेतृत्वको आयोग विघटन गरेको थियो । वर्तमान निरौला नेतृत्वको राष्ट्रिय भूमि आयोगले अघिल्लो आयोगले गरेका कामहरूलाई सदर गर्दै लालपुर्जा वितरणको लागि पालिकाहरूसंग सम्झौता गरेको छ । ज्ञवाली नेतृत्वले बनाएको लालपूर्ण वितरण सम्बन्धी कार्यविधिलाई केही संशोधन गरी अहिले सम्म भएका कामहरूलाई आधार मानेर लालपुर्जा वितरणको काम अगाडि बढाउने गरी सम्झौता भएको मेयर वनले जानकारी दिनुभयो ।
अघिल्लो आयोगले संकलन गरेको विवरणलाई जाँचबुझ गर्ने र त्यसलाई पनि आधार मानिने मेयर वनले बताउनुभयो । पाँच बर्षे कार्यकालको अन्तिम अन्तिममा आइपुगेका मेयर वनले अहिले बनेको आयोगले सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने आफ्नो सपना पुरा गर्ने विश्वास व्यक्त गर्नुभयो । यस अघिको आयोगले संकलन गरेको विवरण अनुसार रत्ननगर नगरपालिकामा भूमिहीन दलीत,भूमिहीन सुकुमबासी र अव्यवस्थित गरी २ हजार ३९८ घरघुरीले फारम भरेका थिए । यही पुस २४ गते जिल्लाको भरतपुर महानगर सहित माडी र कालिका नगरपालिकाले आयोगसँग सम्झौता गरिसकेका छन् ।