नुवाकोटको ककनी गाँउपालिका–३ अचराङमा गएराती आगलागीबाट तीन घर जलेर नष्ट भएका छन् । मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको स्थानीय कृष्ण ढुङ्गानाले जानकारी दिनुभयो । आगलागीबाट तामाङ दाजुभाइको घरमा रहेको सरसामान सबै जलेर नष्ट भएका छन् ।
स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी–३ का वडाध्यक्ष घननाथ बजगाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन घरसहित सो घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुँदा रु ५० लाख भन्दाबढीको क्षति पुगेको देखिएको छ । आगलागीको कारण यकीन नभए पनि विद्युतीय मिटरबक्सबाट सुरु भएको देखिएकाले विद्युत् सर्ट भएर हुनसक्ने प्रहरीको अनुमान छ ।
पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले आज टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिनुभयो ।