
चुनाव नजिकिँदै जाँदा देशका विभिन्न भागमा विभिन्न दलका पक्षधरबिच झडप र हुलदंगाका समाचार आइरहेका छन् । यता रुकुम पश्चिममा चुनावको मुखैमा दुई दलले आपसमा झडप नगर्ने सहमती गरेका छन् । दलहरुले नजिकिदै गरेको स्थानीय निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन स्थानिय राजनितिक दलहरुले सहमतीको प्रयास गरेका हुन् ।
आइतबार जिल्लामा आयोजना गरिएको सर्बदलिय, सर्बपक्षिय बैठकमा स्थानीय चुनावलाई स्वच्छ र मर्यादित बनाउने र शान्तीपूर्ण चुनावी वातावरण बनाउने सहमती भएको हो ।
बैठक लगतै नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेस रुकुम पश्चिमले संयुक्त अपिल सार्वजनिक गर्दै पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा भइरहेका हुलदंगा र झडपप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका संयोजक गोबिन्द रोका र नेपाली कांग्रेस जिल्ला सभापती प्रेम प्रकाश ओलीद्धारा हस्ताक्षरित संयुक्त अपिलमा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न र झडप रोकेर जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिस्पर्धाको वातावरण सिजर्ना गर्ने सहमति भएको जनाइएको छ ।
सार्वजनिक अपिलमा भनिएको छ – ‘केन्द्रीय सत्ता गठबन्धनको उद्देश्य र मर्ममाथि नै प्रहार हुने गरी भइरहेका यस्ता अवाञ्छित क्रियाकलापहरूबाट शान्तिपूर्ण र स्वच्छ निर्वाचनको वातावरण निर्माणमा नकारात्मक असर पर्ने देखिएले निर्वाचन प्रचार प्रसारको सिलसिलामा एक अर्काप्रति उत्तेजक अभिव्यक्ति नदिन, संयमित रुपमा प्रस्तत हुन, मानिसहरूको भिडभाड नगराउन, युनिफर्म जस्तो देखिने पोशाक प्रयोग नगर्न, वडाभित्र अन्य वडाको व्यक्तिहरु भेला नगराउन, निर्वाचन आचार संहिताको पूर्ण रुपमा पालना गर्न र हाल भइरहेका झडपजन्य गतिविधिहरू तत्काल रोकी जिल्लाभर मैत्रीपूर्ण र स्वच्छ प्रतिष्पर्धाको वातावरण सिर्जना गर्न आ-आफ्नो पार्टी पंक्तिलाई निर्देशन गर्ने सहमति भएको छ ।’
आइतवार जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा अर्थमन्त्री मा. जनार्दन शर्माको प्रमुख आतिथ्यमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु र जिल्लास्थित राजनैतिक दलका शिर्ष नेतृत्वहरु सम्मिलित सर्वपक्षीय बैठकले निर्वाचन आचरसंहिताको पूर्ण पालना गर्न राजनैतिक दलहरुमार्फत अपिल गर्ने निर्णय गरेको थियो ।