
नुवाकोटका ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङसहित सासंदहरुको टोलीले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई भेटेर ल्याण्डफिल्ड साइटको समस्याबारे जानकारी गराएर दीर्घकालीन नीति लिन सुझाएका छन् ।
भेटमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले सरकारले फोहोर व्यवस्थापनको नीति मात्र बनाउने नभई कार्यान्वयनमा समेत जोड दिनुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य र रोजगारी राज्यको दायित्व अन्तर्गत पर्ने भएकाले आयोजना प्रभावितलाई सरकारले विशेष सम्बोधन गर्नुपर्ने समेत बताउनुभयो । यस्तै आयोजना प्रभावित क्षेत्रका स्थानीयले आफूहरूले फोहोरको वैज्ञानिक व्यवस्थापन चाहेको बताउनुभयो । दीर्घकालीन रूपमा फोहोर व्यवस्थापन गर्नका लागि तत्कालीन समस्यालाई नजरअन्दाज नगर्न उहाँहरूले आग्रह गर्नुभयो ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो ।
मन्त्री झाँक्रीले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटले काठमाडौंको फोहोर व्यवस्थापनमा नयाँ मोड ल्याउने बताउनुभयो । बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूका मागप्रति नजरअन्दाज नगरिने उहाँले स्पष्ट पार्नुभयो ।
छलफलका क्रममा धादिङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठीले आयोजना प्रभावित क्षेत्रको प्राविधिक टोलीको अध्ययनअनुसार सरकारले जग्गा अधिग्रहण गर्नुपर्ने बताउनुभयो । यस्तै अर्का सांसद हितबहादुर तामाङले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटको फोहोर व्यवस्थापनमा देखिएका समस्या दीर्घकालीन समाधानका उपाय खोजेर अघि बढ्न सुझाव दिनुभयो । उहाँले यो समस्या बारम्बार दोहोरिन नदिन स्थानीय सरकारलाई समेत जवाफदेही बनाउनुपर्ने बताउनुभयो ।
धादिङको धुनीबेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट व्यवस्थापन सबैको साझा दायित्वको विषय भएको बताउँदै यसका व्यवहारिक पक्षमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले साइटमा फालेको फोहोर उचित रूपमा व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
छलफलमा शहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटका आयोजना प्रमुख रवीन्द्र बोहरा, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेल, जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक दिनेशराज मैनाली, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेशी नगरपालिकाका जनप्रतिनिधि, बन्चरेडाडाँ ल्याण्डफिल्ड साइट क्षेत्रका आयोजना प्रभावित क्षेत्रका स्थानीय लगायतको उपस्थिति थियो ।
मन्त्रीसँग हाकाहाकी ककनी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष घननाथ बजगाइँ
(हेर्नुहोस् भिडियो)