
नुवाकोट जिल्लामा नेकपा माओवादी केन्द्रको आन्तरिक राजनीतिक विवाद घरिघरि छताछुल्ल हुने गर्छ । जिल्लास्तरीय नेता र माननीयसम्मको छेडछाड बेला बेला सामाजिक सञ्जालमा नआउने गरेको होइन । यस्तैमा स्थानीय नेता गोकर्ण न्यौपाने गजेन्द्रले शनिबार सामाजिक सञ्जालमा एउटा सबाल राखे । जिल्लामा आदेशपाल र अलोकप्रिय नेताको हालीमुहालीले पार्टी राजनीति, संगठन, आर्थिक व्यवस्थापन सबै डामाडोल भएको उनको भनाई थियो । उनको स्टाटसमा पत्रकार पुरुषोत्तम लम्सालले उनैलाई विगतमा ‘गधा नुहाएर गाई बनाउँछु र बनाउनपर्छ’ भन्दै हिँडेको आरोप लगाए । न्यौपानेलाई लम्सालले कि सबैले सुन्ने गरी बोल्न कि टाउको झुकाउन विकल्पसमेत सुझाएका छन् ।
न्यौपानेले कम्युनिस्टको संकेत चिन्ह हँसिया हथौडाको चित्रसहित लेखेका थिए, ‘जिल्लामा यति आदेशपालहरू र अलोकप्रिय नेताहरुको फेला परियो कि भनी साध्य छैन।
न उ आफैँ योजना बनाउछ !
न उ कसैलाई सोध्छ !
न उ राजनीतिक कार्यकर्ता खोज्छ !
न उ साङ्गठनिक योजना निर्माण गर्छ !
न उ आर्थिक व्यवस्थापनमा सबल छ !
बिडम्बना त्यही भएर सबैतिर डामाडोल छ !
जस्ता नेता, उस्तै कार्यकर्ता !
उनिहरूको तरिका नि उस्तै !
न जान्दछ न सोध्छ !!
हरे राम !!
कहाँ पुगिएला अब ? धन्न प्रचण्डको नाम जपेर शासन गर्न पाएका छन् !
अहिले हामी कल्पना त नगरौँ तर हुन पनि सक्छ- कुनै दिन प्रचण्ड भएनन् भने यिनीहरूको हालत के होला ?
ए महामानवहरू हो, कम्तिमा आफ्नो जिम्मेवारीको चित्तबुझ्दो जवाफ त दिन सक्ने होउ !!
‘जो जति सत्ता र शक्तिमा छ, सप्रे बिग्रेकोमा त्यो त्यति नै जिम्मेवार हुन्छ ।’
यही स्टाटसमा पुरुषोत्तम लम्सालको टिप्पणी यस्तो थियो, ”जिल्ला संगठनमा हिजो ‘गधा नुहाएर गाई बनाउँछु र बनाउनपर्छ’ भन्ने तपाईहरु नै हो। तिनका छल कपट र धूर्ततालाई कलशमा आँपको पात र कूशको जरा चोबेर चोख्याउने वा प्रतिरक्षा गर्ने तपाइहरु नै हो। ढोकामा चुकूल ठोकेर आग्लाले बजाउनपर्छ भन्दा उहाँहरु पनि प्रचण्डपथकै अनुयायी हो भन्ने तपाईहरु नै हो। जिल्ला पार्टीमा नचनी र पुतली खाइमेलो गर्दा संगठित प्रहार गर्नपर्छ भन्दा ‘नेतृत्वको रक्षा कार्यकर्ताको सुरक्षा’ भन्ने तपाइहरु नै हो। कुँडाकर्कट र घाँसपात जोडेर संगठनको पहाड बनाउँछु भन्ने ‘छेपारेहरुलाई मुठ्ठी उठाएर लालसलाम ठोक्ने’ तपाईहरु नै हो।
अहिले पनि भित्ते मेयर र भित्ते वडाध्यक्ष बनाउँदै हिंड्ने लम्पटहरुलाई नेता मान्ने हजुरहरु नै हो। हिजो ‘एउटा चुनाउ आयो’ छोडियो भन्ने तपाइहरुले ‘फेरि अर्को चुनाऊ आउँछ ल्यांग नगरम’ भनेर ‘त्वम् शरणम’ गर्नपर्छ।
तपाइहरुसँग जम्मा दुई विकल्प छन्:
एक : कि टाउको उठाउनहोस र गर्जेर सबैले सुन्ने गरी बोल्नुस्।
दुई : कि टाउको झुकाउनुहोस र ‘कट्टुपन्थ …जिन्दाबाद ‘ भन्दै ‘हस्त नमस्ते’ भन्नुहोस।
अरु पनि भनम् ? कि पुग्यो?’








































