
नेकपा (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले टोखा–छहरे सुरुङ निर्माण सक्दो छिटो अघि बढाउन माग गर्नुभएको छ । प्रतिनिधिसभा बैठकको विशेष समयमा आइतबार धारणा राख्दै सांसद तामाङले सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिएको छहरे-टोखा सुरुङमार्ग निर्माणको विषय बजेटमा कटौती हुँदा नुवाकोटवासी जनता निराश भएको दाबी गर्नुभयो ।
नेपालको समृद्धिका लागि एउटा बलियो पूर्वाधार छहरे-टोखा सुरुङ निर्माणमा लाग्न उनले सरकारको ध्यानाकर्षणसमेत गराउनुभयो ।
बालाजुदेखि पीपलटारसम्म पासाङ ल्हामु सडक अस्तव्यस्त रहेको उल्लेख गर्दै सांसद तामाङले यसमा पनि तत्काल बजेट छुट्याएर स्तरोन्नति गराउन माग गर्नुभएको छ। ट्र्याक खोलेको वर्षौं भए पनि यो सडक आव २०७९/८०को विनियोजन विधेयकमा बजेट नपर्नु दु:खद रहेको उहाँको भनाइ छ। राजमार्ग स्तरोन्नति एवम् पुनःस्थापना शीर्षकअन्तर्गत रकम जुटाएर भए पनि निर्माण अघि बढाउनुपर्नेमा उहाँको जोड छ ।
‘मैले त्यस सडक निर्माणलाई अगाडि बढाउने सम्बन्धमा केही दिनअघि मन्त्रालयका सचिव र अन्य विभागीय प्रमुखहरुसँग भेटको थिएँ । त्यस क्रममा उहाँहरु सकारात्मक देखिनुहुन्थ्यो । विभागीय मन्त्री र अर्थ मन्त्रलाय सकारात्मक हुने हो भने राजमार्ग स्तरोन्नति एवम् पुनःस्थापना शीर्षकअन्तर्गत रकमको व्यवस्थापन गरी पुनः टेण्डर आह्वान गरी निर्माण कार्यई अगाडि बढाउन सकिन्छ भन्ने थियो । तसर्थ सम्मानीय सभामुखमार्फत माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री र अर्थमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँले भन्नुभयो ।
इकान्तिपुर डटकममा खबर छ ।








































