नवलपरासी पश्चिमको क्षेत्र नं. २ (१) मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन् । बस्नेतले प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार आशिष प्रधानलाई ७१ मतको झिनो मतान्तरले पराजित गरेका हुन्।
बस्नेतले १२ हजार ४४९ मत ल्याएका छन् भने राप्रपाका उम्मेदवार प्रधानले १२ हजार ३७८ मत ल्याएका छन्। तेस्रोमा एमालेका थानप्रसाद गैरेको ८ हजार ८८४ मत छ।
माओवादी केन्द्रबाट टिकट नपाएपछि बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका थिए। सत्तारुढ गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रकै उम्मेदवार चिनक कुर्मी भने २ हजार २९ मत पाएर छैटौं स्थानमा रहे। कुर्मीको जमानत जफत भएको छ। जमानत जोगाउन सदर मतको १० प्रतिशत आवश्यक छ।
चौथो र पाँचौंमा क्रमशः राष्ट्रिय उन्मुक्ति पार्टी र लोसपाका उम्मेदवार रहे। कुल ३७ हजार ९५२ मत खसेको प्रदेश सभामा ७ राजनीतिक दल र ४ स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका थिए।








































