नुवाकोट
प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचनमा नुवाकोटबाट एमालेले जित निकाल्न सकेन । दुवैतर्फ गठबन्धनका साझा उम्मेदवारहरु नै विजयी भएपछि प्रतिनिधि सभा र प्रदेश सभामा नुवाकोट एमालेविहीन भएको हो । नुवाकोट क्षेत्र नम्बर १ मा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी हुनुभएको छ । नेकपा एमालेका बद्री मैनालीलाई ३ हजार ८५ मतले पछाडि पार्दै तामाङले जित हात पार्नुभयो । तामाङले २६ हजार पाँच सय ४८ मत ल्याउँदा एमालेका मैनालीले २३ हजार चार सय ६३ मत ल्याउनुभएको थियो । माओवादीबाट निर्वाचित तामाङ ०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नं. १ मा गठबन्धनकै तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेशकुमार महत निर्वाचित हुनुभयो। महतले एमालेका पूर्णलाल श्रेष्ठलेाई पराजित गर्नुभयो । महतले १३ हजार ३७ मत ल्याउनुभएको छ भने श्रेष्ठले ११ हजार तीन सय ६८ मत पाउनुभएको छ ।
यस्तै प्रदेश सभा २ मा गठबन्धनकी उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभयो । नेकपा माओवादी केन्द्रकी तामाङले नेकपा एमालेका सुशील कुमार खड्कालाई पराजित गर्नुभएको हो । तामाङले १६ हजार एक सय ६९ मत ल्याउँदा खड्काले ११ हजार तीन सय ५० मत पाउनुभयो । तामाङ ०७४ मा पनि यही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
नुवाकोट प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा पनि गठबन्धनले जित निकालेको छ । कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन विक्रम पाण्डेलाई हराउँदै संघीय सांसद बन्नुभयो । यो क्षेत्रमा २०७४ को निर्वाचनमा नेकपा एमालेका नारायणप्रसाद खतिवडा निर्वाचित हुनुभएको थियो । यस्तै क्षेत्र नं. २ को १ मा नेकपा माओवादी केन्द्रका रामप्रसाद ढुंगाना निर्वाचित हुनुभएको छ । ढुंगानाले १२ हजार एक सय १० मत ल्याउँदा नेकपा एमालेका केशवराज पाण्डेले ११ हजार ६ सय ६२ मत ल्याउनुभयो । क्षेत्र नम्बर २ को २ मा पनि गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बहादुरसिंह लामा निर्वाचित हुनुभएको छ । लामाले १७ हजार दुई सय ४९ मत ल्यानुभयो भने नेकपा एमालेका विजयसिंह लामा तामाङले नौ हजार एक सय २४ मत मात्र प्राप्त गर्नुभयो ।








































