धादिङ ।
सासंद एवं पूर्वमन्त्री हितबहादुर तामाङले विकासका धेरै काम संघीय सरकारभन्दा स्थानीय र प्रदेश सरकारले गर्ने भएपनि केन्द्र सरकारबाटै योजना सफल बनाउन सघाउने प्रतिबद्धता जनाउनुभएको छ । आज निलकण्ठ नगरपालिका फ्याक्से धादिङमा भएको गोरु जुँधाइ कार्यक्रममा प्रमुख वक्ताका रुपमा बोल्दै सांसद तामाङले स्थानीय योजनालाई सफल बनाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
‘हिजो संघीय सरकारले गर्ने गरेका ठुला ठुला योजना पनि प्रदेश र स्थानीय तहमा पठाइने गरेको छ’ उहाँले भन्नुभयो, ‘एक अर्ब १५ करोड बराबरको फक्सेटार धादिङबेसी सडक बनाउन संघीय सरकारले सम्बोधन गर्नुपर्छ भन्ने स्थानीयको मागलाई सम्बन्धित मन्त्री र सरकारसमक्ष लैजान पहल गर्ने प्रतिबद्धता जनाउछु’ ।
यसैबिच सांसद तामाङले चुनावका बेला भएको काँग्रेससँगको गठबन्धन काँग्रेसकै कारण तोड्नुपरेको बताउनुभएको छ । चुनावअघि भएको सहमतीअनुसार काँग्रेसले सरकार गठन गर्न नमानेपछि एमालेसँग मिलेर सरकार बनाउनुपरेको प्रष्ट पार्नुभयो । ‘हिजो काँग्रेससँग गठबन्धन गरेर चुनावमा भोट माग्न र जिताएर पठाउनुस् भन्यौँ तर जितेर गइसकेपछि सरकार बनाउनेक्रममा काँग्रेसले चुनावअघिको सम्झौता नमान्ने खेल खेलेपछि एमालेसँग गठबन्धन गरेर सरकार बनायौँ’ तामाङले भन्नुभयो । उहाँले संसदमा सबै दलले विस्वासको मत दिएर सरकार गठन भएकाले केन्द्रअनुसारको सहकार्य स्थानीय स्तरसम्म कायम राखेर विकासका योजनालाई सरकारसमक्ष ल्याउन स्थानीयलाई आग्रह समेत गर्नुभएको छ ।
धादिङको फ्याक्सेमा ८ वर्षदेखि हरेक वर्ष माघे संक्रान्तिका दिन गोरु जुँधाइ महोत्सव हुँदै आएको छ । यसवर्ष भएको महोत्सवमा ९ हल गोरु जुधाइएको थियो ।
कार्यक्रममा प्रदेश सांसद गोविन्द लम्साल, मनराज भण्डारी, निलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा लगायतले बोल्नुभएको थियो ।